Sajhamanch Archive

किन भयो ठाकुर र महतो बीच भनाभन, यस्तो छ कारण

Published: (Updated: ) in राजनीति by .

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिन लामो बैठक सकियो । तर, कुनै निर्णय भएन । बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा ११ वटा कार्यसूचीमा सबै सदस्यले पालैपालो आफ्ना धारणा राखेका थिए ।

अन्तिम दिन शनिबार अध्यक्षमण्डलका छजना सदस्यले पनि आआफ्नो कुरा राखे । अध्यक्षमण्डलका सदस्यहरूले एक घण्टाभन्दा बढी लामो धारणा राखेका थिए । तर अन्त्यमा कुनै निष्कर्ष नै ननिकाली बैठक सकिएको छ ।

किन भएन निर्णय ?

सबैले आआफ्नो धारणा राखिसकेपछि बैठकलाई निर्णायक बनाउनुपर्ने भन्दै महाधिवेशन तथा अन्य विषयमा निर्णय सार्वजनिक गर्नुपर्ने कुरालाई लिएर दुई गुटबीचमा भनाभनसमेत भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भएका छलफलका आधारमा राजनीतिक समितिको बैठकबाट निर्णय गर्नुपर्ने अडान लिएका थिए भने अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा उठेका विषयहरूलाई ‘कम्पाइल’ गरेपछि मात्र अध्यक्षमण्डलको बैठकबाट निर्णय सुनाउनुपर्ने अडान राखेका थिए ।

त्यसपछि राजेन्द्र महतोले ‘बैठक राजनीतिक समितिको बसाउने अनि निर्णय अरू बाटोबाट गर्ने यस्तो कहाँ हुन्छ ?’ भन्दै राजनीतिक समितिको बैठकमा भएको छलफलको निर्णय यतैबाट हुनुपर्ने धारणा राखेका थिए ।

‘राजनीतिक समितिको बैठक सकिएको छ, निर्णय सुन्नलाई जजसलाई बस्नुछ बसौँ, जजसलाई जानुछ जाऔँ, म कसैलाई बाँधेर राख्न सक्दिनँ । सबै विचारलाई ‘कम्पाइल’ गरेपछि मात्र निर्णय सुनाउँछु’, महन्थ ठाकुरले भनेका थिए ।

त्यसपछि महतोले कड्किएर भने, ‘अध्यक्षमण्डलबाट नै निर्णय गराउनु थियो भने राजनीतिक समितिको बैठक किन बोलाउनुभयो त ? तपाईंको अध्यक्षतामा बैठक बसेको छ, यसको जवाफ तपार्इंले नै दिनुपर्छ ।’

एक नेताका अनुसार महतोले कड्किएर बोलेपछि संयोजक ठाकुरले टेबलमा मुक्का बजार्दै भने, ‘त्यसो भए तपाईंले नै गर्नुस् न निर्णय । तपार्इंबाट हुन्छ भने तपार्इं नै गर्नुस् ।’

‘पार्टीको संयोजक तपार्इं हुनुहुन्छ, तपाईंको अध्यक्षतामा बैठक बसेको हो । निर्णय सुनाउने अधिकार तपार्इंसँग छ भने मैले कसरी सुनाउने’ महतोले भनेका थिए । बैठकको अन्त्यमा यसरी महतो र ठाकुरबीच भनाभन चलेपछि कुनै निर्णय हुन सकेन ।आज अध्यक्षमण्डलको बैठक बसाएर राजनीतिक समितिमा भएका छलफलको आधारमा निर्णय हुने बताइएको छ ।

महतोले किन गराउन चाहन्थे निर्णय ?

अध्यक्षमण्डलमा राजेन्द्र महतो अल्पमतमा परेका छन् । महन्थ ठाकुर, राजकिशोर यादव, अनिलकुमार झा र महेन्द्र राय यादव एकातिर छन् भने अर्कोतिर राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र रहेका छन् ।

अध्यक्षमण्डलका अल्पमत र बहुमतको कुरा भयो भने राजेन्द्र महतो अल्पमत पर्छन् र उसले चाहेको जस्तो निर्णय हुनसक्दैन । त्यही भएर उनी राजनीतिक समितिमै निर्णय गराउन चाहेका थिए । राजनीतिक समितिमा राजेन्द्र महतो पक्षको उपस्थिति राम्रै छ ।

त्यही भएर सोही बैठकबाट निर्णय गराउन चाहेका थिए ।

महाधिवेशन अन्योलमा 

राजपा नेपालले महाधिवेशनका लागि लामो समय लिए पनि तोकिएको समयमा हुन्छ कि हुँदैन भनी अन्योल देखिएको छ ।

महाधिवेशनसम्मका लागि तयार भएको पार्टीको विधान पनि राजनीतिक समितिबाट पारित हुनसकेन ।

दुई पक्षको बीचमा कुरा बाझिएपछि त्यो तोकिएको समयमा महाधिवेशन हुन्छ कि हुँदैन भनी अन्योल देखिएको छ ।

महेन्द्र राय यादवले अहिलेको केन्द्रीय समितिमा रहेका सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि बनाएर चाँडै महाधिवेशन गराउनुपर्ने धारणा राखे भने राजेन्द्र महतोले तल्लो तह चुनावको प्रकृया पूरा गर्दै महाधिवेशन गराउनुपर्ने धारणा राखेका थिए ।

यो विषयमा पनि दुई नेताबीच कुरा बाझिएपछि बैठक निर्णायक हुन नसकेको स्रोतहरूको दाबी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *