Sajhamanch Archive

झापामा धुर्मस–सुन्तलीसहित पत्रकार र साहित्यकारलाई सम्मान गरिने

Published: (Updated: ) in समाज by .

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस—सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई नगदसहित सम्मान गर्ने भएको छ ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरको शुक्रबार बसेको बैठकले उनीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

आगामी असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीको अवसरमा काँकरभिट्टामा धुर्मुस—सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरे, पत्रकार राजु अधिकारी र साहित्यकार राजेन्द्र संग्रौलालाई नगदसहित सम्मान गरिने निर्णय भएको भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा आयोजना हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित भानु पुरस्कार काठमाडौँस्थित धुर्मुस—सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई १ लाख १ हजार रुपैयाँ, कृष्ण—पवित्रा उप्रेती प्रष्ठिानद्वारा स्थापित धनमाया—देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार नागरिक दैनिकका क्षेत्रीय सम्पादक राजु अधिकारीलाई २५ हजार रुपैयाँसहित सम्मान गरिने भएको अध्यक्ष उप्रेतीले बताए ।

त्यस्तै, हेमराज—मेदनी खरेल प्रतिष्ठानबाट प्रदान गरिने साहित्यिक पुरस्कार प्रगतिशिल लेखक संघका झापा अध्यक्ष राजेन्द्र संग्रौलालाई २५ हजार रुपैयाँ, भानु प्रतिभा पुरस्कार जनजाति सीमान्तकृत जेठा मुर्मुलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने भएको उनले बताए । त्यस्तै इञ्जिनियर रुद्र मैनालीलाई कार्यक्रममा प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रममा कृष्ण—पवित्रा उप्रेती प्रतिष्ठान मुख्य आयोजक र सहआयोजकमा हेमराज—मेदनी खरेल प्रतिष्ठान रहने जनाइएको छ । कार्यक्रम अनुसार उक्त दिन भानुको शालिकमा माल्यर्पण, भानुको कार्यालय उद्घाटन, सम्मान तथा पुरस्कार वितरणका साथै कवि गोष्ठीसमेत हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *