Sajhamanch Archive

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पाँचथर । १६ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा १८ वर्षीय नातेदारलाई जिल्ला अदालतले असार २४ गते ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले आरोपितविरूद्घ ०७४ फागुन २८ गते परेको मुद्दामा सुनुवाई गर्दै कैदसँगै २० हजार रुपैया क्षतिपूर्ति भराउने समेत निर्णय गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।

पीडित बालिकालाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । घटनाका दुवै पक्ष हाडनाताभित्र पर्ने भएकाले उनीहरूको विवरण गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताए ।

त्यस्तै १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २० गते झापा जिल्ला शनिअर्जुन नपा ९ का ४० वर्षीय श्याम भनिने सनबहादुर खातीलाई ६ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए । घटनाका आरोपितविरूद्ध ०७४ माघ ९ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । पीडित बालिकालाई खातीले ०७१ असोज २१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । घटना पश्चात फरार रहेका आरोपित लामो समयसम्म गिरफ्तार गर्न नसकिएकाले सोही अवस्थामा मुद्दाको फैसला भएको हो ।

यौन दुरव्यवहार गरेको कसुरमा तीन वर्ष कैद

१५ वर्षीया बालिकालाई यौन दुरव्यवहार गरेको कसुरमा तुम्देवा गाउँपालिका–६ का १९ वर्षीय उत्तम शेर्पालाई जिल्ला अदालतले असार २१ गते तीन वर्षकैदको सजाय सुनाएको छ ।

०७४ माघ ९ गते आरोपितविरूद्घ परेको मुद्दामा न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए । पीडित बालिकालाई शेर्पाले ०७१ जेठ १५ गते यौन दुरव्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते प्रहरीमा उजुरी दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *