Sajhamanch Archive

झापामा धान रोपाइँको गति सुस्त, ३५ प्रतिशत मात्र रोपाइँ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

झापा । गतवर्ष असारमा झापामा धान रोपार्ई उत्साहजनक रुपमा भएको थियो भने यसपटक २४ गतेसम्म ३५ प्रतिशत मात्रै रोपाई भएको छ । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार असार २४ गतेसम्म ३५ प्रतिशत मात्रै धान रोपाई भएको छ । त्यसैले झापामा यसपटक धान रोपाइँको गति सुस्त बन्दै गएको हो ।

गतवर्ष झापामा ९५ प्रतिशत धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाश डाँगीले जानकारी दिए । त्यसबेला असार २० गते नै किसानले ५० प्रतिशत धान रोपाई गरेको उनले बताए ।

सिञ्चाई सुविधाको अभावमा धेरै जमिनमा अझै पनि रोपाईको सुरसार भएकै छैन । असार अन्तिमसम्म आइपुग्दा जिल्लामा ३० देखि ३५ प्रतिशत मात्रै रोपाइँ भएको डाँगीको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसअघिको लगातारको झरीले धेरैलाई साथ दिए पनि भरपर्दो सिञ्चाई सुविधा नभएको ठाउँमा भने अझै समस्या चर्को छ । ‘जिल्लामा सिञ्चाई सुविधा नभएको जमिनको क्षेत्रफल धेरै छ’, प्राविधिक शेषराज पौडेलले भने ‘त्यसैले रोप्न आकाशकै पानीको भर छ । त्यो पनि एक दिन मज्जाले घाम लाग्दा सुक्ने स्थितिका जमिन धेरै छन् ।’ सिञ्चाईकै कारण रोपाइको दर सुस्त भएको उनले बताए ।

‘असार दोस्रो सातासम्ममा रोपिसक्नुपर्ने धान साउन लाग्न आट्दासम्म रोप्न पाइएन’, केही वर्षदेखि राधा—१२ जातको धान लगाउँदै आएका बुद्वशान्ति–३ का कैलाश मगरले भने ‘ढिलो रोप्दा कामै लाग्दैन । के गर्ने अन्योल छ ।’ केही वर्षयता जिल्लाका धेरै किसानले उन्नत जातका धान लगाउन थालेका छन् । राधा—१२, शरणा लगायतका धानहरु बेलैमा नरोपे काम नलाग्ने कृषि प्राविधिक नै बताउँछन् ।

नयाँ जातका धानमा आकर्षित किसान मारमा परेका छन् । झापामा किसानले मल्का वासमति, कालो वासमति, चुल्ठे, साम्भा सप, मनसुली सुख्खा तीन, आरपी—१०१७ लगायत जातका धान रोप्न थालेको प्राविधिकले जानकारी दिए । किसानले भारतमा उत्पादन हुने रञ्जित, जुनेली, सनफ्लावर लगायतका धान पनि रोप्न थालेका छन् । आधाभन्दा धेरै बर्खा बित्दासम्म खेतमा एकै गावो धान रोप्न नपाउने उनीजस्ता किसान झापाका गाउँ—गाउँमा अझै धेरै छन् ।

भरपर्दो सिञ्चाई सुविधा नभएका, आकाशे पानीको भरमा खेती गर्दै आएका, लामो समयसम्म पानी जम्न नसक्ने जमिन भएका किसानको यसपटक बिजोग भएको छ । ठुलै वाढीपहिरो आए वा पानी नै परेन भने पनि जिल्लामा रोपाई घट्ने सम्भावना हुन्छ । विगतमा त्यस्तै कारणले गर्दा धान उत्पादनमा कमि आएको प्रविधिकको भनाइ छ । अन्न उत्पादनका लागि मुलुककै अगुवा पाँच जिल्ला मध्ये झापा पनि एक हो । तराईका विभिन्न जिल्लामध्ये झापा, मोरंग, सुनसरी तथा वारा, पर्सालगायतका जिल्लामा धान उत्पादन मनग्य हुने गरेको छ ।

आफूलाई खान पुग्ने राखेर पनि झापाले उत्पादनको दुई तिहाई अन्न अन्यत्र निर्यात गर्ने तथ्यांक कृषि विकास कार्यालयसँग छ । तर, कूल खेतीयोग्य जमिनको झण्डै आधा क्षेत्रफल आकाशे पानीको भरमा रहेका कारण बहुसंख्यक किसानले कहिल्यै समयमा खेती गर्न पाउँदैनन् । ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइने जिल्लामा ४१ हजार हेक्टर भन्दा बढी जमिन आकाशे पानीकै भरमा छ । झापाको ३६ हजार हेक्टर खेतीयोग्य जमिन मात्रै पूर्ण सिञ्चित छ । ११ हजार हेक्टर जमिन अर्ध सिञ्चित छ ।

जिल्लामा कनकाई सिञ्चाई आयोजनाको नहर सबैभन्दा भरपर्दो सिञ्चाई स्रोत हो । सतासीधाम, महाभारा, शिवगञ्जलगायतका साविकका गाविसहरुका किसानलाई यसको सुविधा प्राप्त छ । त्यस्तै बुद्धशान्ति अर्जुनधारालगायतका क्षेत्र पनि सिञ्चाई सुविधा पुगेका क्षेत्र हुन् । तर, खोला दोहनले पैनीको स्रोत नै सुकाएका कारण पूर्वोत्तर झापाका क्षेत्रमा पनि असर परेको छ ।

दक्षिण झापाका साविकका गाविस जुरोपानी, बैगुनधुरा, कोरोबारी, लखनपुर, पृथ्वीनगर, बनियानी, राजगढ, ज्यामिरगढी लगायतका क्षेत्रहरु सुख्खा क्षेत्रमा पर्छन् । किसानले यस्तो समस्या दशकौँ अघिदेखि भोग्दै आएका छन् । तर, भरपर्दो सिञ्चाईको प्रबन्ध गर्न कसैले चासो दिएको छैन । जिल्ला कृषि विकास कार्यालयका प्रमुख डाँगीले आगामी साउन पहिलो हप्तासम्ममा ५० प्रतिशत धान रापाई हुनेमा आशावादी रहेको बताए । साउन दोस्रो हप्तासम्म वाढीपहिरो नआए वा पानी परिरहे गतवर्षको हाराहारीमा झापामा धान रोपाई हुने उनको बुझाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *