Sajhamanch Archive

विद्यार्थी केन्द्रित बनाउने अभियान प्रभावकारी बन्दै

Published: in समाज by .

भद्रपुर । पाठ्य पुस्तक भन्दा व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले ब्रिटिस काउन्सिलसित सहकार्य गरी सुरु गरिएको शिक्षण प्रविधि विद्यार्थी केन्द्रित हुने गरेको पाइएको छ ।

काउन्सिलले सन् २०१२ बाट नेपालका विद्यालयलाई अन्र्तराष्ट्रिय शिक्षणसित समन्वय गरी विद्यार्थी केन्द्रित बनाउने अभियान सुरु गरेको तेस्रो चरणसम्म आउँदा सवल भएको सहभागी विद्यालयले जनाएका छन् ।

प्रविधिको प्रयोग गरिरहेको भद्रपुर स्थित प्रज्ञा एकाडमीले सन् २०१८ मा उत्कृष्ट विद्यालय सम्मान प्राप्त गरेपछि यो प्रभावकारी भएको पाइएको छ । काउन्सिलको प्राविधिक सहयोग रहने यस पद्धतिमा सहभागी विद्यालयले प्रविधि मैत्री तथा बाल केन्द्रित शिक्षणमा जोड दिने हुँदा बाल बालिकाको सर्वाङ्गीण विकास हुने गरेको विद्यालयले जनाएका छन् ।

प्रविधिमा सिकाई गर्ने विद्यार्थी अन्तर देशीय संस्कृति, सभ्यता पहिचान गर्न परियोजना कार्यमा निपूर्ण हुने गरेको अनुभव प्रिन्सिपल इशुभ पाण्डेले सुनाए । नेपालका संस्कार संस्कृति अन्य देशमा परिचित हुने, स्थानीय विषयले पाठ्यक्रमको रुप धारण गर्ने अवसर प्राप्त हुने हुँदा सवल नागरिक उत्पादनमा योगदान पुग्ने उनले विश्वास गरेका छन् ।

नेपाल भरीबाट ७७ वटा विद्यालयले कार्यक्रममा सहभागिताको निवेदन दिएकोमा ४२ वटाले मात्र परियोजना प्रतिवेदन बुझाएका थिए । जसमा १९ वटा विद्यालयले उत्कृष्ट हुन पाएकोमा झापाबाट भद्रपुरको प्रज्ञा एकाडमी र दमकको झापा मोड सफल भएको काउन्सिलका पूर्वाञ्चल कार्यक्रम संयोजक चूडामणि निरौलाले जानकारी दिए । कार्यक्रमको मूल उदेश्य विद्यालयमा हुने पाठ्यपुस्तकको बोझ घटाई विद्यार्थी केन्द्रित शिक्षणका लागि एक कम्प्युटर एक शिक्षक प्रविधि लागू हुने वातावरण तयार गर्नु रहेको बताए ।

काउन्सिलकी कोअर्डिनेटर उर्वसी चौहान खड्काकोले कार्यक्रम लागु गर्न विद्यार्थीमा अतिरिक्त खर्च नलाग्ने तथा प्रविधिमैत्री स्थानीयकरणको पाठ्यक्रम विकासमा योगदान हुने उल्लेख गरिन् । अबको शिक्षा प्रणाली आधुनिकतातर्फ लैजानु पर्ने भएकोले अन्य विद्यालयले पनि ध्यान दिनु पर्ने उनले जनाइन् ।

यसैगरी काउन्सिलसितको सहकार्यमा सञ्चालित शिक्षण प्रकृयामा उत्कृष्ट घोषित प्रज्ञा एकाडमी भद्रपुरले अवार्ड सेलिव्रेशन सम्पन्न गरेको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा चन्द्रगढीको होटल सिभान्समा विद्यालय परिवार तथा सहयोगी संस्था बीच सेलिव्रेशन सम्पन्न गरिएको हो । सो कार्यक्रममा विद्यालयले शिक्षक, शिक्षिका तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *