Sajhamanch Archive

भानु जन्मजयन्तीका अवसरमा : धुर्मुस र सुन्तलीसहित ६ सम्मानित

Published: (Updated: ) in टिप्स/जानकारी by .

झापा ।  आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा कलाकार तथा सामाजिक अभियान्ता दम्पति सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहित ६ जनालाई झापामा सम्मान गरिएको छ।

झापाको मेचीनगरस्थित भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाेमा उच्च मूल्यांकन गर्दै सामाजिक अभियन्ता दम्पति कट्टेल र घिमिरेलाई नगद एक लाखसहित सम्मान पत्रले सम्मान गरेका हुन्।

त्यसैगरी धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कारबाट यस वर्ष नागरिक दैनिकका पूर्वाञ्चल व्युरो प्रमुख झापा निवासी पत्रकार राजु अधिकारी र हेमराज मेदनी खरेल साहित्यिक पुरस्कारबाट साहित्यकार राजेन्द्र संग्राैलालाई नगद २५/२५ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो।

त्यस्तै दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इन्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको थियो।  प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

साथै सोही अवसरमा उपकुलपति घिमिरेले भानु साहित्यिक प्रतिष्ठानको कार्यालयको उदघाटन समेत गरेका थिए। कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, पत्रकार चन्द्र भण्डारी, सम्मानित व्यक्तित्व सीताराम कट्टेल र कुञ्जना घिमिरे र यज्ञराज प्रसाईले आदिकवि भानुभक्त आचार्यका बारेमा चर्चा गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *