Sajhamanch Archive

‘आधा सत्य’को सार्वजनिकीकरण

Published: (Updated: ) in शिक्षा by .

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’को सार्वजनिकीकरण गरिएको छ ।
उपन्यास काठमाडौंको बागबजारमा गत असार ९ गते सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले विमोचन गरेका थिए ।

सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत उक्त कृतिको सार्वजनिकीकरण गरिएको हो । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा नेपाली लेखक संघका पूर्व सचिव तथा लेखक कुमार भट्टराईको आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सदस्य सुरेश खड्काले स्वागत गरेका थिए ।

कार्यक्रममा ‘आधा सत्य’ उपन्यासकी लेखक भगवती ढुंगेलले पुस्तकको बारेमा चर्चा गरेकी थिइन् । लेखक ढुंगेलले आफूले पहिलो कृतिको रुपमा उपन्यास ‘आधा सत्य’ प्रकाशनमा ल्याएको बताउँदै उक्त कृति वास्तविक प्रेमकथामा आधारित रहेको बताइन् । उनले भनिन्– ‘यो संसारिक रंगमञ्चमा कुनै पनि कुरा सबै सत्य छैनन् । सत्य त आत्मा हो, जो अमर छ । अरु सबै झुटा हुन् । सत्य मात्र एक आमा हुन् जसले हामीलाई जन्म दिन्छिन् । जन्मेपछि तेरो बाबु यो हो भनेर सन्तानलाई चिनाउँछिन् त्यो विशवास हो । अरु जिन्दगीको रंगमञ्चमा भेटिएका सबै पात्रहरु झुटा हुन् । बाँकी सारा भ्रम यानिकी झुटलाई सत्य मानेर रमाउने बहाना मात्र हुन् ।, यो सब नाटक हो, सञ्चालन परमात्माबाट भएको छ । यदिसम्म कि संसारिक रंगमञ्चका हामी कलाकार हौं । त्यसैले हामीले देखेको संसार आधा सत्य हो । भन्ने कुराको भाव प्रकट गरेर यो उपन्यासको रचना गरेको छु ।’

झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी ढुंगेलले २०५९ सालदेखि लेखनमा सक्रिय रहेको बताइन् । उनले उपन्यास ‘आधा सत्य’ बाट संकलित रकम लेट्स रन नेपाल मार्फत् झापाका असहाय, अपाङ्ग बालबालिका र वृद्धवृद्धाहरुको सहयोगका लागि खर्च गरिने बताइन् ।

पुस्तकको बिक्रीबाट लेट्स रन नेपाल संस्थामार्फत गत असार १५ गते झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुका लागि अत्यावश्यक सामग्री प्रदान गरिएको उनले बताइन् । आफूले कुनै फाइदाका लागि पुस्तक लेखेको नभएर पुस्तकको बिक्रीबाट संकलित रकम लेट्स रन नेपाल मार्फत असहाय, अपाङ्गता भएका बालबालिका र बृद्धबृद्धाहरुको सहयोगमा खर्चिने उनले बताइन् ।

यसैबीच सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा आगामी साउन ५ गते बिर्तामोडस्थित रेडमग क्याफेमा उपन्यास ‘आधा सत्य’को चर्चा परिचर्चा र साहित्यिक कविगोष्ठी कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रममा नेपाली लेखक संघ झापाका पूर्व सचिव तथा लेखक कुमार भट्टराईले पुस्तक लेखेर साहित्यिक यात्रा शुरु गरेकोमा लेखक ढुंगेललाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख जनकराज खड्का, पत्रकार तथा लेखक दिपीन राई लेट्स रन नेपालका संस्थापक अध्यक्ष इमेश पाठक लगायतले शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *