Sajhamanch Archive

तथ्याङ्कका आधारमा फ्रान्स, इतिहासका आधारमा क्रोयसिया ट्रफीको हकदार

Published: in खेलकुद by .

काठमाडौं । सन् १९९१ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको क्रोयसिया यसपालीको फिफा विश्व कपको फाइनलसम्म पुग्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन्। तर, समूह चरणमा अर्जेन्टिनालाई हराएपछि अचानक सो मुलुक उपाधिको दावेदारको रुपको अगाडि आयो।
यसपालीको फाइनल सन् १९९८ को विश्व कप सेमिफाइनलको पुनरावृत्ति पनि हो। सो वर्ष स्वतन्त्र राष्ट्रको हैसियतमा पहिलो पटक विश्व कप खेल्दा क्रोयसियाले सेमिफाइनलमा फ्रान्सकै सामना गर्नु परेको थियो। त्यो वर्ष फ्रान्स पहिलो पटक विश्व कप ट्रफी चुम्न सफल भयो भने क्रोयसिया पहिलो सहभागितामा सेमिफाइनलसम्म पुग्यो। सो आयोजनामा जर्मनी जस्तो ससक्त राष्ट्रलाई हराउँदै क्रोयसियाले सेमिफाइनल यात्रा तय गरेको थियो।
संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्को स्थाइ सदस्य राष्ट्र फ्रान्स आइतबार राति युरोपको गरिबमध्ये एक मुलुक क्रोयसियाविरुद्ध मैदानमा हारको भयसँगै उत्रिने छ। जितको बलियो आधार उसले मैदानमा नै बनाउने पर्नेछ। किनकी विपक्षीले कागजमा कारेका हरेक योजनालाई चिर्न क्रोयसियाका खेलाडीहरु सक्षम पनि छन्। जसको पुष्टि सो टोलीले हरके खेलमा गर्दै आएको छ। यसपाली क्रोयसियाको मिडफिल्ड जति ससक्त देखिएको छ, त्यो क्षमता अर्को टोलीले देखाउन सकेको छैन। तर, फ्रान्सको फरवार्ड र डिफेन्स पनि कोहीभन्दा कम छैन। यो विश्व कपको फाइनल एक अर्थमा दुई पूर्ण टोलीबीचको भिडन्त हुनेछ।
जसमा जसले जुनसुकै समयमा पनि खेल आफ्नो पक्षमा पार्ने क्षमता राख्छन्। गृहयुद्धको मार भोगेका क्रोयसियाका खेलाडीहरु अन्तिमसम्म जितकै लागि भिड्न सक्छन्। एक वा दुई गोलले पछि परेपनि उनीहरुको मनस्थितिलाई कमजोर बनाउन असम्भव छ। कुनै ठूलो सपनाबीना रुस आएको क्रोयसियाका लागि फाइनलसम्म पुग्नु नै ठूलो उपलब्धि भइसकेको छ। अब हारले समेत उसको गरिमा घटाउन सक्दैन। क्रोयसियाको फुटबल इतिहासमा सुनौलो आयाम थपिसकिएको छ। हो उपाधि जितेको खण्डमा सो मुलुकको इज्जतमा अझै बढोत्तरी भने अवश्य हुनेछ।
यो विश्व कपमा लगातार ३ खेल अतिरिक्त समयमा खेलिसकेको क्रोयसियाले झैं फाइनलसम्म पुग्न फ्रान्सले मेहनत गर्नु परेको छैन। तर, क्रोयसियाले यस आयोजनामा खेलेका सम्पूर्ण ६ खेल जित्दा त्यो गौरव फ्रान्सले भने पाउन सकेको छैन। फ्रान्ससँग ४ खेलमा कुनै गोल नव्यहोरेको आत्मविश्वास भने मैदानमा झल्कने छ। वास्तवमा भन्ने सो खेल यो विश्व कपको शक्तिशाली मिडफिल्ड र ससक्त आक्रमण गर्ने टोलीबीचको भिडन्त हुनेछ। जसले गर्दा मस्कोको लुजनिकी रंगशालामा हरेक मिनेट रोमान्चकता भने अवश्य छरिने छ। सन् १९९८ को सेमिफाइनलमा क्रोयसियालाई हराउने फ्रान्सका कप्तान डिडियर डेसच्याम्प्स् अहिले टोलीको प्रशिक्षक छन्। उनी फ्रेन्क बेकनबरपछि विश्व कप जित्ने कप्तान र प्रशिक्षक बन्ने योजनामा छन्।
यद्यपि खेलाडीका रुपमा ब्राजिलका मार्सेलो जगालोको नाममा समेत सो कीर्तिमान बाँडिएको छ। हुनत फ्रान्स र क्रोयसियाले हालसम्म उल्लेख मात्रामा अन्तर्राष्ट्रिय फुटबल खेलेका छैनन्। तर, जति खेलेका छन्, त्यसमा फ्रान्सले हार व्यहोर्नु परेको छैन। ती दुईबीच हालसम्म भएका पाँच खेलमा दुई पटक फ्रान्स विजयी बजेता बनेको छ भने तीन खेल बराबरीमा टुंगिएको छ। तर, क्रोयसियाका प्रशिक्षक जाट्को डेलिक इतिहासले वर्तमानको खेलको नतिजा तय नगर्ने दावी गर्छन्। उनको विचारमा आजको टोली हिजोको क्रोयसियाली टोली होइन।
अहिले अनुभवले खारिएर बनेको टोली यो विश्व कपमा खेल्दैछ, जोसँग हरेक टोली हराउन सक्ने र उपाधि जित्न सक्ने सामथ्र्य छ। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विराटकृष्ण श्रेष्ठसमेत क्रोयसियाले अकल्पनीय खेल पस्किरहेको बताउँछन्। तर, उनको विचारमा उपाधि जित्ने आधारमा फ्रान्स केही बलियो देखिन्छ। तर, यो विश्व कप अकल्पनीय नतिजाहरुको भण्डार बनिसक्यो, त्यसैले सहजरुपमा उपाधि यसले नै जित्छ भन्न कठिन छ। नेपाली फुटबल टोलीका पुराना खेलाडी कोमल पाण्डे फ्रान्सले विचित्रको खेल पस्किरहेको बताउँछन्।
उनको विचारमा क्रोयसियाभन्दा फ्रान्सको उपाधि जित्ने सम्भावना केही बलियो छ। उता युरोपका फुटबल तथ्याङ्कशास्त्री डेविड सम्प्टनर पनि फ्रान्सलाई क्रोयसियाभन्दा बलियो टोली मान्छन्। अनि आइतबारको फाइनल २–१ ले फ्रान्सको पक्षमा जाने तथ्याङ्कको आधारमा दावी गर्छन्। उनको विचारमा केलियन एम्बापे र एन्टोनि ग्रिजमेन फ्रान्सको विजयको आधार बन्नेछन्। उता लुका मोड्रिकले पनि सहजरुपमा मैदानमा विपक्षी हावी हुन दिने छैनन्। उनको अग्रसरतामा क्रोयसियाले खतरनाक आक्रमणहरु गरि नै रहने छ। इतिहास कै कुरो गर्ने हो भने विश्व कपले हरेक २० वर्षमा ट्रफीको नयाँ हकदार पाउँदै आएको छ। सन् १९५८ मा ब्राजिल, सन् १९७८ अर्जेन्टिना र सन् १९९८ मा फ्रान्सले लेखेको इतिहासलाई क्रोयसियाले निरन्तरता दिनसक्दैन भन्ने आधार पनि छैन। बस् अब पर्खाइ छ त, यस विश्व कपमा दुई उत्कृष्ट टोलीको भिडन्तको अनि रोमान्चक नतिजाको।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *