Sajhamanch Archive

प्रदेश १ मा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, पाँच हजारसम्म जरिवाना

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एकसय मिटरभित्र सूर्तीजन्य पदार्थको सेवन, बिक्री र प्रदर्शन गर्न नपाइने ‘ब्यानर’ राखेर अभियानको सुरु गरिएको हो । ब्यानरमा लेखिएको वाचन गरेर मुख्यमन्त्री शेरधन राईले अभियानको थालनी गर्नुभएको छ । सूर्तीजन्य पदार्थको नियमन र नियन्त्रण ऐन २०६८ अनुसार प्रदेश सरकारले अभियान सुरु गरेको हो ।

सूर्तीजन्य पदार्थको नियन्त्रण अभियानको सुरुवाती कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयले सातवटै मन्त्रालयका एक सय मिटरवरिपरि प्रयोग, बिक्री र प्रदर्शनमा बन्देज गरिएको छ । सामाजिक विकास मन्त्रालयको सक्रियतामा प्रदेशका सातवटै मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय मोरङमा सूचना र निर्देशनमूलक ब्यानर राखिएको छ ।

नियमको कार्यान्वयन गराउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सूर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धी नियम चैत्र मसान्तभित्रमा एक नम्बर प्रदेशका सबै स्थानमा लागू गरिसक्ने योजना प्रदेश सरकारको रहेको छ । प्रदेशका सबै सार्वजनिक र सरकारी निकायमा उक्त नियम उल्लेख भएको साइन बोर्ड अनिवार्य राख्नुपर्ने र यदी त्यसो नगर्ने कार्यालय प्रमुखलाई पाँच हजार जरिवाना गराइने प्रावधान लागू गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *