Sajhamanch Archive

बसन्त पञ्चमीको अवसरमा प्रधानमन्त्रीको शुभकमना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । बसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाईंदै आएको यस पर्वका अवसरमा काब्यविनोदीः स्रष्टा, सर्जक, साहित्य, संगीत, कला साधक तथा ज्ञानका अध्येताहरुमा शुभकामना दिएका हुन् ।

यस दिनलाई स–साना बालबालिकाको अक्षराम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाईंदै आएको यस पर्वको प्राकृतिक काल विभाजनसँग पनि सम्बन्ध छ । जसअनुसार एक वर्षलाई ६ वटा ऋतुमा बिभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको प्रधानमन्त्री ओलीको भनाई छ ।

वसन्तऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रंगीन पुतलीहरुको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय प्रचलन छ । जहाँज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यता अनुसारसरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । त्यसैले उनको बीणाबाट ब्रह्माण्डमा स्वर, संगीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ । सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन् । यसरी असल वा खरावको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।

यतिबेला हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छौं । राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको प्रधानमन्त्री ओलीले बताए । हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अब्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै छौं । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षा पूरा हुनेछ । जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ । उनले भने, त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक ब्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ । ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्मजयन्तिका रुपमा मनाइने वसन्तपञ्चमीका अवसरमा समस्त दिदीबहिनी–दाजुभाइहरुमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस्, वसन्त पञ्चमीको हार्दिक शुभकामना ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *