Sajhamanch Archive

‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा

Published: (Updated: ) in टिप्स/जानकारी by .

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

बेलायतमा छायांकन गरिएको फिल्म अर्को वर्षको भदौ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा फिल्म प्रदर्शनमा हुन लागेको हो । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् ।

अर्को वर्षको तीजलाई लक्षित गर्दै अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘मन परेसी’ र सोमवार घोषणा गरिएको सुब्रतराज आचार्यले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । भदौ ५ मा ‘सम्हालिन्छ कहिले मन’ आउने भएपछि ‘मन परेसी’ को रिलिज सर्ने बताइएको छ । किनकि, दुवै फिल्ममा पूजा र आकाश प्रमुख भूमिकामा छन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मबाट नायकको रुपमा गायक समेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन् । सौरभ लामाले खिचेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा परि राना र अजित​ कुमार​ थापा सह-निर्मातामा छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट फिल्मको नाम सापटी लिइएको हो । स्टारकास्टका कारण यो फिल्मको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *