Sajhamanch Archive

राजवंशी समुदायले मेचीनगरमा नेता छान्दै

Published: in राष्ट्रिय समाचार by .

धुलाबारी । राजवंशी समाज विकास समिति मेचीनगर समितिको छैठौं नगर अधिवेशन शुक्रवार धुलाबारीमा सम्पन्न भएको छ ।

राजवंशी समाज विकास समिति मेचीनगर संयोजक धर्मलाल राजवंशीको अध्यक्षता तथा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्र बुढाथोकी, राजपा मेचीनगर अध्यक्ष अनिल राजवंशी, राजवंशी समाज विकास समितिका जिल्ला उपाध्यक्ष दिनेश्वर राजवंशी, समाजसेवी हृदयराज राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहभागी राजवंशी समुदायका अगुवाहरुले आफ्नो अधिकारका निम्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

मेचीनगर तथा भारतको कुचविहारलगायतका क्षेत्रबाट राजवंशी समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा आफ्नो कला संस्कृति झल्कने गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

२०६८ सालको जनगणना अनुसार मेचीनगरमा ५ हजार राजवंशी समुदाय रहेको बताइएको छ । यद्यपि, अहिले उक्त जनसङ्ख्या बढेको राजवंशी समाज विकास समितिका जिल्ला सचिव मुनिलाल राजवंशीले जानकारी दिए । महलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जोश्ना र जितेन राजवंशीले गरेका थिए ।

समितिको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । समय अभावका कारण भोली शनिबार बस्ने बन्दसत्रबाट आगामी तीन वर्षका लागि समिति चयन हुन लागेको हो ।

राजवंशी समाज मेचीनगर समितिको अध्यक्ष पदमा दुईजना आकांक्षी देखिएका छन् । दिनेश राजवंशी र कात्तिकलाल राजवंशी अध्यक्षमा उठ्ने सम्भावना रहेको छ । पहिलो पटक राजवंशी विकास समाजको नगर समिति बन्ने भएकाले पनि आकांक्षीहरु बढी देखिएका हुन् । नगरका १५ वटै वडाबाट तीन÷तीन जना महिला र पुरुष प्रतिनिधिबाट नेतृत्व छानिनेछ । समिति कम्तिमा १७ सदस्यीय बन्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *