Sajhamanch Archive

भद्रपुरमा किराँत महोत्सव सुरु

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वको अवसरमा लगाँइदै आएको १३ औं किराँत महोत्सव भद्रपुरमा सुरू भएको छ । भद्रपुर ८ स्थित किराँत कोलनीमा महोत्सव सुरू भएको हो ।

निर्माणाधिन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल, खानाका परिकार सहित ११ स्टल रहेका छन् ।

मेला संयोजन समितिका संयोजक डिगबहादुर लिम्बूले दिएको जानकारी अनुसार महोत्सवमा किराँत खानका परिकार, साँस्कृतिक भेषभुषा, विश्व युद्धका क्रममा प्रयोग भएका हातहतियार प्रदर्शन हुने छन् ।

भद्रपुर ८ का वडाध्यक्ष तथा किराँत कल्याण समितिका पूर्व अध्यक्ष गौरव सुब्बा (मनोज) का अनुसार सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचान सहित किराँत संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी बन्ने छ । १२ औं महोत्सवसम्म पूरा हुँदा समितिले १ करोड २५ लाख खर्च गरेर ३ तले सुविधा सम्पन्न सामुदायिक भवन बनाउन सफल भइ सकेको उनले जानकारी दिए । वडाध्यक्ष सुब्बाका अनुसार अब २५ लाख जति खर्च गर्न सके भवनको सम्पूर्ण निर्माण पुरा हुने छ । जसका लागि महोत्सवको सहयोग लिइएको हो ।

किराँत कल्याण समितिकी अध्यक्ष सुमन राई भन्छिन् सुविधा सम्पन्न सामुदायिक भवनलाई पार्किङ स्थल आवश्यक परेकोले भवनसित जोडिएको एकठ्ठा जग्गा खरिद गर्नै पर्ने बाध्यता छ । जसका लागि पनि महोत्सव रोज्नु परेको हो । महोत्सवमा १६ गते प्रमोद खरेल, २० गथे इन्दिरा जोशीले सांगीतिक प्रस्तुती दिने छन् भने हास्य कलाकार विष्णु सापकोटाले माघ २४ गते मेलामा आउर भरपुर मनोरञ्जन दिने आयोजक समितिले जनाएको छ । मेलाबाट उठेको रकम सामुदायिक भवनमा खर्च हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *