Sajhamanch Archive

झापाको विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुद महोत्सव शुरु

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा नगरभरिका विद्यालयहरुको सहभागितामा आजदेखि प्रथम नगर खेलकुद महोत्सव शुरु भएको छ ।

नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशालामा शुरु महोत्सवको उक समारोहका बीच १ नं प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरे ।

समितिका अध्यक्ष एवम् आयोजक मूल समितिका संयोजक टिकाप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गर्नुका साथै आकषृक नृत्य तथा खेलकुद प्रदर्शन गरेका थिए । समितिका सदस्य दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि कार्कीले खेलकुदको माध्यमबाट विश्वमा राष्ट्रलाई चिनाउन सकिने भन्दै राज्य पुनर्संरचनापछि झापामा सबै स्थानीय तहहरुले खेलकुदका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।

प्रमुख अतिथि कार्कीले प्रदेश सरकारले पनि खेलकुदलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रदेश सरकारले खेलकुदमा लगानी बढाउने जानकारी दिए ।

आयोजक समितिका उपाध्यक्ष केशव भण्डारीले स्वागत गरेको समारोहमा विर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले नगर खेलकुद विकास समितिले विभिन्न खेलकुदका गतिविधि महत्वका साथ सञ्चालन गर्दै आएको बताउँदै खेलकुदमा विर्तामोड नगरपालिकालाई अब्बल बनाउने गरी नगरपालिकाले योजनाहरु अघि सारेको उल्लेख गरे । नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न खेलकुद क्षेत्रका संघ–संस्थाहरुको बाक्लो उपस्थिति रहेको समारोहमा झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङलगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

फागुन २ गते सम्पन्न हुने गरी आयोजित महोत्सवमा नगरका संस्थागत ४० र सामुदायिक ९ गरी ४९ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् भने १६७ स्वर्ण, १६७ रजत र १४७ कास्य गरी ४८१ पदकका लागि प्रतिस्पर्धा भइरहेको आयोजक समितिका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिए । झण्डै १५ सय खेलाडी सहभागी हुने प्रतियोगता सम्पन्न गर्न १३ जना खेल प्राविधिक तथा अफिसियल परिचालन गरिएको आयोजक समितिका सदस्य दर्गाराज निरौलाले जानकारी दिए ।

आसन्न झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगितालाई समेत दृष्टिगत गरी आयोजना गरिएको खेलकुद महोत्सवमा एथलेटिक्स, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, कराते–तेक्वान्दो, टेबलटेनिस, कबड्डी, चेस, ब्याडमिन्टनलगायतका ११ विधाका खेल खेलाइने अध्यक्ष संग्रौलाले बताए ।

अध्यक्ष संग्रौलाका अनुसार नगरस्तरीय राष्ट्रपति रनिङशील्डसमेत मानिएको यस प्रतियोगिताका विधागत सर्वोकृष्ट खेलाडी तथा टिमले झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । यसैगरी, यस प्रतियोगितामा उत्कृष्ट देखिएका खेलाडीहरुलाई नगर खेलकुद विकास समितिले नियमित प्रशिक्षण गराई उत्कृष्ट खेलाडी उत्पादन गर्ने सोच रहेको पनि अध्यक्ष संग्रौलाले बताए ।

पहिलो दिन छात्राको दौड
महोत्सवको पहिलो दिन एउटा विधाको एउटा मात्र खेल सम्पन्न भएको छ । छात्रातर्फको १०० मिटरको दौड सम्पन्न भएको आयोजकले जनाएको छ । सो दौडमा देवी माविकी लक्ष्मी दर्जी प्रथम, महेन्द्रज्योति माविकी कञ्चन अधिकारी द्वितीय र महेन्द्ररत्न माविकी सुस्मिता राजवंशी तृतीय भउको निरौलाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *