Sajhamanch Archive

गोपी’ को ह्याट्रिक, विपिन उत्कृष्ट अभिनेता

Published: (Updated: ) in टिप्स/जानकारी by .

विदेश मोह त्यागेर स्वदेशमै गाईपालन गरेर बसेको एक युवकको कथा पेश गरिएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ह्याट्रिक गरेको छ ।

फिल्मले तीनवटा विधामा अवार्ड जितेको छ । सोमवार समापन भएको फेस्टिभलमा फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड, उत्कृष्ट अभिनेता र उत्कृष्ट छायांकन जुरी अवार्ड प्राप्त गर्‍यो ।

‘गोपी’ बाट उत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले हात पार्दा शेलेन्द्र डि. कार्कीले उत्कृष्ट छायाँकारतर्फको अवार्ड उचाले । यो फिल्मले यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म, उत्कृष्ट कथा र उत्कृष्ट पटकथा तथा संवाद विधामा पनि अवार्ड जितेको थियो । फिल्म बक्सअफिसमा नाफाको व्यापार गर्न भने चुकेको थियो ।

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिचर फिल्मतर्फको निर्णायकको नेतृत्व भारतीय फिल्म निर्देशक प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले सघाएका थिए । त्यस्तै, श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए ।

फेस्टिभलको आयोजना नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले गरेको थियो । फेस्टिभलमा सहभागी हुन ४० देशका फिल्मकर्मी नेपाल आएका थिए । निफका अध्यक्ष केपी पाठकले महोत्सवको यस संस्करणमा देखाइएको फिल्मले नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । निफ उद्घाटनमा चाइनीज फिल्म ‘कम्पोजर’ देखाइएको थियो ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *