Sajhamanch Archive

सक्कली श्रीमतीको नाममा अर्कैलाई अमेरिका लान खोज्दा…

Published: in समाज by .

काठमाडौं।  रौतहटको गुजरा नगरपालिका–५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई अमेरिका लैजान लागेको खुलासा भएको छ।

रिपोर्टर्स क्लब नेपालमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार र मधु साहलाई कारबाही गर्न माग गरेका छन् ।

रुपरेखाकी फुपू नाता लाग्ने रञ्जु साहले दोस्रो बिवाहको बारेमा संविधान कडा भएपनि व्यबहारिक रुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताइन् ।

‘मेरो भदैनी रुपरेखाको श्रीमान पाँच वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ’,  नेपाल वैश्य युवा संघकी केन्द्रीय सचिवसमेत रहेकी साहले भनिन्, ‘त्यही खबरले हाम्रो भदैनी मानसिक रुपमा प्रभावित भएकी छिन्, पाँच वर्षीया छोरी छन्, दोस्रो बिवाह गरेर जोडिएको घरपरिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन्, यो कार्य पूर्णरुपमा गलत छ ।’

त्यस्तै कार्यक्रममा रुपरेखाका बुवा विश्वनाथ साह गुप्ताले आफ्नी छोरीमाथि अन्याय गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

‘७ वर्ष पहिले आपसी मिलेमतोमा विवाह गरेका थिए, पाँच वर्षकी नातिनी छिन्, दोस्रो विवाहको नाटक गरेर छोरीको श्रीमान्ले अर्की श्रीमतीलाई अमेरिका लैजान थालेको सूचना हामीले पाएका छौं’, उनले भने, ‘मधु साहको काका नाता लाग्ने फोरमका नेता समेत रहेका किरण साहले मलाई पैसामा मिल्न आग्रह गरेका छन्, हामीलाई पैसा चाहिएको होइन ।’

उनले अघि भने,‘हाम्री छोरीको न्याय खोसिनु हुँदैन भन्ने हो, नागरिकता दिने, यो कुकार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुनुपर्छ, नेपालको संविधानले दोस्रो बिवाह गर्नेलाई दण्डित गर्छ, त्यो कारबाही दोषीले भोग्नैपर्छ ।’ पाँच वर्षीया छोरीको साथमा २५ वर्षीया आमा रुपरेखा गुप्ता अहिले माइतीमा बस्दै आएकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *