Sajhamanch Archive

सगरमाथा लोकमार्ग ३ सातादेखि बन्द

Published: (Updated: ) in समाज by .

उदयपुर । उदयपुर सदरमुकामसँग पहाडी भेग र खोटाङलाई सोझो सम्पर्कमा जोड्ने मुख्य सडक गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको रानीबास–फोक्सिन्टार खण्डमा झण्डै ३ सातायता पहिरो गएर अवरुद्ध सडक अझै खुल्न सकेको छैन।

सो खण्डमा पर्ने त्रियुगा नगरपालिका १५ खाँबुको रातमाटेस्थित सडकमा गएको पहिरो हटाइएपनि अर्को ठाउँको पहिरोले यातायात सुचारु हुन नसकेको हो।

३ दिन लगातार परेको पानीले ३ साताअघि रातमाटेस्थित सडक पुर्नेगरी ४६ मिटर लामो पहिरो गएपछि यातायात सेवा अवरुद्ध हुन पुगेको थियो। त्रियुगा नगरपालिकाको विपत व्यवस्थापन समिति, सडक कार्यालयका इन्जिनियर र स्थानीयको पहलमा घट्नास्थल पुगेर पहिरो पन्छाउने काम गरिएपनि अर्को ठाउँको पहिरोले यातायात सुचारु हुन नसकेको सडक कार्यालयले जनाएको छ। त्रियुगा नगरपालिका, गाईघाट–दिक्तेल सडक कार्यालय र स्थानीयबासीको सामुहिक पहलमा बुधबार दिनभर पहिरो पन्छाएपछि अवरुद्ध सडक खुलेको थियो। तर, अर्को ठाउँमा त्यस्तै पहिरो गएकाले यातायात सुचारु हुन नसकेको हो।

त्रिनपा १५ का वडाध्यक्ष निरबहादुर मगरले पहिरो पन्छाएर सडक मर्मत गरेपछि त्यहाँ सडक सुचारु हुने भएपनि अर्को ठाउँमा त्यस्तै पहिरो गएकाले यातायात सुचारु हुन नसकेको बताए। दिनभर लगाएर त्यहाँको पहिरो पन्छाइएपनि अँधेरी खोलादेखि ४ सय मिटरमाथि अर्को त्यस्तै पहिरो गएकोले यातायात सुचारु गर्न नसकिएको उनले बताए। सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भइरहकाले बर्खा याममा सामान्य वर्षामा पनि पहिरो जाने समस्याले सडक अवरुद्ध हुन पुगेको सडक कार्यालयका प्रमुख इन्जिनियर (डिई) हरि पोखरेलले बताए।

पोखरेलका अनुसार सडकमा पहिरो गएको खवर पाउने बित्तिकै प्राविधिक खटाएर तत्काल सडक सुचारु गर्न निर्देशन दिएपनि परिहो पन्छाउन ढिलाई भएको हो। सो सडक खण्डमा कन्चनजंघा÷गोल्डेन कन्स्ट्रक्सन कम्पनीले कालोपत्रे र स्तरोन्नति कार्य गरिरहेकाले उसैलाई पहिरो पन्छाएर सडक सुचारु गर्न निर्देशन दिएको पोखरेलले बताए। तर, स्थानीयहरूसँग समन्वय अभावमा पहिरो पन्छाउन ढिला भएकाले यातायात सुचारु हुन नसकेको उनको भनाई छ।

निर्माण कम्पनीका साईट इन्चार्ज रामसागर ठाकुरले पहिरो सडक र नगरपालिकासँगको सहकार्यमा पन्छाउन सफल भएपनि ४० सय मिटर टाढा अर्को ठाउँमा त्यस्तै गएकाले यातायात सुचारु हुन नसकेको बताए। अँधेरी खोलादेखि ४ सय मिटर वारि अर्को पहिरो गएको र त्यसको मर्मत गर्न केही स्थानीयले अवरोध गरेकाले पनि पहिरो पन्छाउन समय लागेको ठाकुरले बताए।

ठाकुरका अनुसार सडक खन्दा पहिरो गएर आफुहरूको जग्गामा क्षति पुगेको भन्दै स्थानीय शेरबहादुर मगरले पहिरो हटाउन अवरोध गरेका छन्। उनले पहिले आप्mनो जग्गा सुरक्षित हुनेगरी गारो लगाउनुपर्ने अनि मात्र पहिरो हटाउनुपर्ने माग राखेका कारण पहिरो हटाउन नसक्दा यातायात सुचारु हुन नसकेको बताए।

सडक कार्यालयका इन्जिनियर निज्जल श्रेष्ठले पहाडी भूभागको सडक त्यसमाथि स्तरोन्नतिको काम भइरहेकाले बर्खायाममा यातायात सुचारु गर्न सकस परेको बताए। उसै पनि कच्ची सडक, त्यसमाथि निर्माण कार्य भइरहेकाले बर्खायाममा हिलो र पहिरोले गाडी चलाउन अप्ठेरो हुने गरेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *