Sajhamanch Archive

झापा गोल्डकपको अध्यक्षमा विनोद बस्नेत सर्वसम्मत

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए ।

निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार १५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा बलराम कार्की, उपाध्यक्षमा सुवास भट्टराई, सचिवमा गजेन्द्र पौडेल, सहसचिवमा चेतामणि खनाल र कोषाध्यक्षमा कदार गिरी चयन भएका छन् ।

समितिका सदस्यहरुमा केशवराज दाहाल, सजेश शिवाकोटी, किरण थापा, यादव पोखरेल, सञ्जीव घिमिरे, विष्णुप्रसाद सिग्देल, चन्द्रमणि कट्टेल र दिपेश ढकाल चयन भएक छन् । निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी विधानतः कार्यसमिति सदस्य हुनेछन् । गोल्डकपको संरक्षकमा जलकुमार गुरुङ र होम पाण्डे रहेका छन् ।

साधारणसभाको उद्घाटन कार्यक्रममा झापा गोल्डकपलाई संस्थागत रुपमा अघि बढाउन सफल भएको गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताएका छन् । नेतृत्व चयनसहितको साधारणसभामा बोल्दै अध्यक्ष गिरीले गोल्डकपलाई संस्थागत बनाउने क्रममा २५४ जना सदस्य बनाइएको जानकारी दिए । यो सदस्य संख्यालाई कम्तिमा एक हजार पुराउनुपर्नेमा उनको जोड छ ।

फ्यान क्लबको अवधारणा अनुरुप झापा गोल्डकपलाई विकसित गरिएको बताउँदै उनले आर्थिक रुपमा सबल बनाउन पनि प्रयत्न भइरहेको पनि सुनाए । उनले आफ्नो कार्यकालमा एक करोड रुपैयाँको अक्षयकोष खडा गर्ने लक्ष्य लिइए पनि हाल ३२ लाख रुपैयाँ बचत गर्न सकिएको साधारणसभामा जानकारी गराए ।

पुराना खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरणको थालनीले पनि फुटबल खेलको विकासमा फड्को मारेको उनको भनाइ थियो । त्यस्तै, जग्गादाता डोमालाल राजवंशीका नाति परिवारलाई पनि पुरस्कारसहित सम्मान कार्यक्रमले गोल्डकपको उचाई थपिएको उनले सुनाए ।

अब झापा गोल्डकप आयोजना गरिँदा जिल्लाका १५ वटै पालिकामा पुर्याउने सोचलाई पूरा गर्न नयाँ कार्यसमितिलाई आग्रह पनि गरेका छन् । झापा ११ लाई ब्रान्डको रुपमा व्यवस्थित गर्दै सञ्चालन गर्न आग्रह गरेका उनले अब एकाडेमीका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सम्भव भएसम्म सार्कस्तरीय टुर्नामेन्ट आयोजना गर्न सकेको खण्डमा भरपूर सहयोग जुटाउने उनले प्रतिबद्धता जनाएका छन् ।

झापा गोल्डकपको सदस्य संख्यामा बृद्धि गर्दै निःशुल्क हेर्ने व्यवस्था मिलाउन सके झापा गोल्डकप सबैका लागि अपनत्व हुने भन्दै उनले स्पोन्सरको सहयोगबाट प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गोल्डकपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा ११ र झापा गोल्डकपलाई आफ्नै ठानेर सहयोग गरे मोफसलमा फुटबल विकास हुनेमा आफू विश्वस्त रहेको बताए ।

साधारणसभामा गोल्डकपका सचिव गजेन्द्र पौडेलको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केदार गिरीको आर्थिक प्रतिवदेन पारित भएको थियो ।

साधारणसभाले झापा गोलडकपको पाँचौँ संस्करण आयोजना गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *