Sajhamanch Archive

संसदमा विधेयक पठाउन सरकारलाई सभामुखको आग्रह

Published: (Updated: ) in राजनीति by .

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरू छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन्।

सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने बताए।

उनले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई प्रभावकारी बनाउन सकिने विश्वास पनि व्यक्त गरेका थिए।

जनसंख्या तथा विकासका लागि सांसदहरूको मंच, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख महराले सन् २०३० भित्र मुलुकलाई विकसित राष्ट्र बनाउने सरकार र राजनीतिक दलहरुको साझा लक्ष्यलाई हासिल गर्न लागि पर्न पनि सांसदहरुलाई सचेत गराएका थिए।

सभामुख महराले दिगो विकासमार्फत् मुलुकलाई समृद्ध बनाउन पनि दलहरू मिलेर अघि बढ्नुको विकल्प नरहेको स्मरण गराए।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दिगो विकासको लक्ष्य हासिल हुनेगरी संविधान कार्यान्वयनको मूल कडिको रुपमा रहेको कानुन निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई पूरा गर्न आफ्नो पार्टीले अधिकतम पहल गरिरहेको दाबी गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान कार्यान्वयनको मुख्य चुनौतिको रुपमा रहेको कानुन निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए।

उनले कानुन निर्माणका लागि आवश्यक विधेयकको तर्जुमा गर्दा संसद भित्र र बाहिर पनि व्यापक छलफल  गर्नुपर्नेमा पनि जोड दिए। प्रमुख सचेतक खाँडले संघहरू निर्माण भएपनि नेताहरूको केन्द्रिकृत मनस्थितिका कारण त्यसलाई कार्यान्वयनमा लैजान कठिनाई भईरहेको बताएका थिए।

– थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *