Sajhamanch Archive

भद्रपुर विमानस्थलमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । बिश्वका ८० भन्दा बढी मुलुकमा संक्रमण देखिइसकेको प्राणघातक कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस हेल्थ डेस्क स्थापना गरिएको छ ।

बिभिन्न ठाउँबाट आएका मानिसको आवत–जावत हुने भएकोले कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिए ।

कक्षलाई एक थान इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र) प्राप्त भएको छ । भद्रपुर बिमानस्थल प्रयोग गरी काठमाडौं जाने यात्रुको सो यन्त्रको माध्यमबाट ज्वरो नापिनेछ । ९८.६ डिग्रीभन्दा माथि तापक्रम भएका यात्रुलाई परामर्शसहित यात्रा नगर्न सल्लाह दिइनेछ भने निकै ज्वरो आएको यात्रु भेटिएमा नजिकको अस्पतालमा रेफर गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताए ।

मानिसको निकै चाप रहने विमानस्थलमा निकै सावधानी अपनाउनुपर्ने र कोरोना भाइरसविरुद्धको सचेतना प्रचार सामग्री वितरण गरिनुपर्ने मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिए ।

भद्रपुर विमानस्थलबाट दैनिक चारवटा उडान भर्दै आएको बुद्ध एयरका भद्रपुर स्टेशन म्यानेजर ओम प्रधानाङ्गले अहिलेको अवस्थामा ज्वरो आएका विरामीलाई सकेसम्म यात्रा नगर्न आग्रह गर्दै हेल्थ डेस्कको परीक्षणपछि यात्रा नगर्न परामर्श दिइएको यात्रीको टिकटवापतको रकम फिर्ता गर्ने निर्णय बद्ध एयरले गरेको जानकारी दिए ।

भारतसँगको सीमानजिक विमानस्थल भएकोले दैनिक ठूलै संख्यामा भारतीय तथा छिमेकी नागरिकले भद्रपुर विमानस्थल प्रयोग गर्ने गरेका छन् । झापामा विभिन्न सीमा नाकामा सहायता कक्ष स्थापना गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सीमा क्षत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन् ।।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *