Sajhamanch Archive

झापामा मकै जोन लागू भएपछि कृषक उत्साहित

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर।  झापा जिल्लामा मकै जोन कार्यक्रम लागू भएपछि यस खेतीतर्फ यहाँका कृषक उत्साहितसँगै आकर्षित हुन थालेको पाइएको छ।

उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यस बेला उन्नत जात (हाइव्रिड) मकै खेतीतर्फ आकर्षित भएका हुन्। अझ एक विगाह क्षेत्रफलमा लगाएको मकै खेतीबाट यहाँका कृषकले एकदेखि एकलाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको कृषक बताउँछन्।

विगत वर्षदेखि नै आफूले मकै खेती गर्दै आएको र गाउँपालिकाले अहिले कृषकलाई मकै खेतीका लागि प्रोत्साहन गरेपछि थप उत्साह मिलेको कृषक गणेश राजवंशीले बताए। मकै खेतीबाटै मनग्य आम्दानी गर्दै आइरहेको उनको भनाई छ। उत्पादनका लागि उर्वर भूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकै जोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट एक करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ। झापा गाउँपालिकाले पनि थप ४५ लाख बजेट विनियोजन गरेर थप मकै खेतीलाई विस्तारमा सहयोग पुर्‍याएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए।

गाउँपालिकाको ६ नम्बर वडामा झन्डै ८० प्रतिशत क्षेत्रफलमा कृषकले मकै खेती गर्दै आइरहेको उनले बताए। ‘यसवर्ष ६ नम्बर वडामा संघीय र गाउँपालिकाको अनुदानमा ५०० हेक्टर जमिनमा मकै खेती सुरु भएको छ,’ उनले भने, ‘सँगसँगै गाउँपालिकाको १, २ , ३ र ४ नम्बर वडामा पनि मकै उत्पादनका लागि धेरै कार्यक्रम अघि बढाएका छौँ।’ जिल्लामा धान पछि धेरै क्षेत्रफलमा अहिले मकै खेती भइरहेको छ। अझ सरकारले झापामा मकै जोन कार्यक्रम सञ्चालन गरेपछि मकै खेतीका लागि यहाँका कृषक थप उत्साहित देखिएका छन्।

यस खेतीतर्फ कृषकको संख्या पनि बढ्ने क्रममा रहेको पाइएको छ। उन्नत जातको मकैको बीउ नेपालमा प्रशस्त नपाइने र मकैको बीउ खरिदका लागि यहाँका कृषकले भारतीय बजारमा निर्भर बन्नु परेको अवस्था छ। झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *