Sajhamanch Archive

औषधि उत्पादकले भने, ‘आत्तिनु पर्दैन, ६ महिना पुग्ने औषधि नेपालमै छ’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल औषधि उत्पादक संघले कम्तिमा पनि तीन महिनालाई पुग्ने औषधि नेपालमै रहेको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

संघका महासचिव विप्लव अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको स्थितिमा नै लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलाई अनुनय विनय र आग्रह गर्नुपर्ने अवस्था छैन ।

हामी निजी औषधि उद्योगहरुसँग सरकारले सहकार्य र सहयोग गरे मात्र पुग्छ । नीतिगत रुपमा देशलाई औषधिमा आत्मनिर्भर बनाउने भनेर लेख्ने तर नेपालमा नै बन्न सक्ने औषधिको लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्ने कार्यले हामी समग्र औषधि उद्योगीलाई थप तितो अनुभव भएको छ ।’

संघले अहिले औषधिको अभाव नभएको र ६ महिनालाई पुग्ने औषधि कच्चा पदार्थ, सहायक कच्चा पदार्थलगायत रहेको जानकारी गराएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधिले ६ महिनाको माग धान्ने जानकारी गराएको हो । त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिएका छन् ।

भारतले सिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधि अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएका थिए । तर संघले अत्यावश्यक औषधिका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।

‘अहिले सरकारले विदेशी कम्पनीसँग हार गुहार गर्ने होइन, स्वदेशी औषधी उत्पादकलाई प्रोत्साहन गर्ने होइन’ महासचिव श्रेष्ठले भने ‘अहिले नेपालमा चाहिने ७५ प्रतिशत औषधि यहीं उत्पादन भइरहेको छ, सरकारले प्रोत्साहन गरेमा सय प्रतिशत नै औषधि उत्पादन गर्न सक्छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *