Sajhamanch Archive

शेयर बजारमा पहिरो, नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै बन्द

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । विश्‍वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ।

रेमिट्यान्समा असर देखिन थालेको अवस्थामा शेयर बजार पनि प्रभावित हुन थालेको छ। कोरोनाका कारण अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालिरहेका बेला मंगलबार शेयर मापक नेप्से ६ प्रतिशतले घटेपछि कारोबार नै स्थगित गरिएको छ। बजार ६ दशमलव ०२ प्रतिशतले घटेपछि दिउँसो १ बजेर १३ मिनेटमै सम्पूर्ण कारोवार बन्द गरिएको हो।

कारोबार खुलेदेखि नै पहिरो गएपछि ३ पटक सर्किट ब्रेक लागेको थियो। सुरुमा बिहान ११ बढेर ५९ मिनेटमा ४५ अंकले घटेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। १२ बजेर १९ मिनेट जाँदा पुनः खुलेको बजार खुलेको १३ मिनेटमै ५५ ले घट्यो र फेरि ४० मिनेटको लागि कारोबार रोकियो। त्यसपछि पुनः खुलेको बजार ६५ अंकले घट्यो। नेप्से ८६ दशमलव ३९ अंकले घट्दा १३ सय ४९ दशमलव ३१ बिन्दुमा ओर्लिएको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव ३५ अंकले घटेर २ सय ९० दशमलव ३६ बिन्दुमा झरेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहमा पहिरो गएको छ। यो समूह ७ सय ६२ अंकले घट्दा निर्जीवन बिमा ३ सय ६२ अंकले रातो भएको छ।

बजार बन्द हुनुअघि १ सय ६१ कम्पनीका १ अर्ब ७ करोड ६६ लाखको कारोबार भएको थियो। यसक्रममा २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयर खरिदबिक्री भए। बजारमा कोरोना भाइरसको प्रकोपको असर देखिन थालेको विश्लेषण गरिएको छ। कोरोना भाइरसको महामारीका कारण अर्थव्यवस्था खुम्चिँदै गर्दा विश्‍वभरका शेयर बजारमा पहिरो गइरहेको छ। नेपाली बजार पनि त्यसबाट अछुतो रहन सकेन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *