Sajhamanch Archive

सार्क नेताबीच आज भिडियो कन्फरेन्स, कोरोनासँग जुध्न साझा रणनीति बनाइने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सार्क राष्ट्रका नेताहरूले आज ‘भिडियो कन्फरेन्स’ मार्फत प्राणघातक कोरोना भाइरसविरुद्ध लड्न सहकार्य अघि बढाउने भएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिएका छन् ।

कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज भएका थिए ।

प्रधानमन्त्री ओलीले केही राजनीतिक नेता र आफ्ना सल्लाहकार समूहलाई भेटेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असहज देखिएमा कन्फरेन्समा परराष्ट्रमन्त्री र सल्लाहकार समूह सहभागी हुनेछन् ।

सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो । कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘कन्फरेन्सको हब दिल्ली भए पनि नेपाल अध्यक्ष हुनाले हामीले पनि भूमिका निर्वाह गर्नेछौं ।’ सम्मेलनमा सबै सदस्य मुलुकबाट राजनीतिक नेतृत्व सहभागी हुनेछन् ।

‘हामी भिडियो कन्फरेन्सको तयारीमा छलफल गरिरहेका छौं’, परराष्ट्र सचिव बैरागीले भने, ‘सार्क क्षेत्रमै कोरोना भाइरस संक्रमण बढेपछि भारतको प्रस्तावमा नेपालले अध्यक्षको नाताले यसको व्यवस्थापन र छलफल अघि बढाएको हो ।’ उनले कन्फरेन्सले जटिल परिस्थितिमा सार्क सहकार्यमा अग्रसर रहेको सन्देश दिने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोनासविरुद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रस्ताव राखेका थिए । ‘हाम्रा नागरिकलाई स्वस्थ राख्न हामी भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमार्फत भनेका थिए, ‘संयुक्त रूपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान पु¥याउन सक्छौं ।’

कन्फरेन्सबारे अन्य सदस्य मुलुकहरूले तत्काल सहमत भए पनि पाकिस्तानले सबैभन्दा अन्तिममा सहमति जनाएको थियो । पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार दिउँसो भारतको प्रस्तावलाई समर्थन गर्ने सन्देश नेपाललाई दिएकी थिइन् ।
कन्फरेन्समा पाकिस्तानबाट मन्त्री सहभागी हुने भए पनि अन्य राष्ट्रबाट कार्यकारी प्रमुख या परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।

आज (आइतबार) हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा समेत लिइएको छ । पाँच वर्षदेखि सार्क अवरुद्ध छ । २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन ।

सन् २०१६ मा पाकिस्तानको इस्लामाबदमा सार्क शिखर सम्मेलन हुने कार्यक्रम थियो। काश्मीरको उरीमा आतंकवादी आक्रमण भएका कारण भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो । त्यसपछि शिखर सम्मेलन हुन सकेन। यस्तै कर्मचारी स्तरमा बैठक भइरहे पनि मुख्य कार्यक्रम हुन सकेको छैन ।

कोरोनाको कारण अघि बढेको मोदीको पछिल्लो प्रस्तावलाई कूटनीतिज्ञहरूले सार्कको पुनर्जीवनका रूपमा धारणा बनाएका छन् । दुई महिनाअघि चीनको हुपई प्रान्तबाट फैलिएको कोरोना संक्रमण विश्वका १४० भन्दा बढी मुलुकमा पुगेको छ । भारतमा शनिबारसम्म दुई जनाको मृत्यु भएको छ । यस्तै पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । नेपाल, बंगलादेश, भुटान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्समा पनि कोरोना प्रभावित बिरामी देखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *