Sajhamanch Archive

सार्क भिडियो कन्फरेन्समा प्रम ओली: नेपालमा कोरोना छैन,सावधानी अपनाइएको छ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा सम्भावित महामारीको जोखिमलाई बुझेर त्यही अनुसारको तयारी गरेको बताएका छन्।

उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी दिए ।आइतबार कोरोनाभाइरस विरुद्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको जानकारी दिए ।

उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए ।

यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी गराए ।

स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । उनले यसवर्षको आरोहण रद्द गरिएको पनि बताए । सो क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबै सार्क मुलुकलाई धन्यवाद दिएका थिए ।

‘भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कमव्याटिङ कोरोना भाइरस ः सेटिङ यान एक्जाम्पल फर द वल्र्ड’ नाम दिइएको सो कन्फरेन्स गर्न भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् गरेको आग्रहलाई सदस्य मुलुकले स्वागत गरेका थिए । मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी कन्फरेन्समा सहभागी भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *