Sajhamanch Archive

टेकु र पाटनको बेड भरियो, सशस्त्रको अस्पतालले बिरामी लिन मानेन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन्।

दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ। टेकु अस्पतालमा रहेका पाँचवटा आइसोलेसन वार्ड र अरु सातवटा बेडमा बिरामी भरिएपछि नयाँ बिरामी भर्ना गरेर उपचार गराउन समस्या भएको छ।

‘दुवै अस्पतालका बेड भरिएका छन्। नयाँ बिरामीको संख्या बढेका बढ्यै छ’, टेकु अस्पतालका एक चिकित्सकले भने, ‘नयाँ बिरामी राख्ने ठाउँ नभएर दुईजना बिरामीले उपचार पाएका छैनन्। एकजनाको अवस्था गम्भीर छ। तत्काल आइसोलेसनमा राख्नुपर्ने हुन्छ।’ सशस्त्रले लिन मानेन सरकारले टेकु, पाटन र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कोरोना भाइरसका संकास्पद बिरामीको तत्काललाई परीक्षण र उपचार गर्ने निर्णय गरेको थियो। तर टेकु र पाटनमा ठाउँ नभएर भर्ना गर्न नसकिएका बिरामीको उपचार गर्न सशस्त्रको अस्पताले अस्वीकार गरेको छ। ‘पाटन र टेकु दुवैमा बिरामीको चाप छ, बेड खाली छैन।

सप्तरीबाट आएका एक बिरामीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिएका छन्। उनलाई तत्काल उपचारको खाँचो छ’, ती चिकित्सकले भने, ‘तर हामीले पठाएका ती बिरामीलाई सशस्त्रको अस्पतालले तयारी नै गरेको छैन भनेर भर्ना नै लिन अस्वीकार गरेपछि समस्या भएको छ।’ टेकु आइपुगेका दुईजना शंकास्पद बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ। एकजनालाई आइसोलेसनमा अक्सिजन दिएर राख्नैपर्ने रहेको चिकित्सकले बताएका छन्। ‘एकजनामा कोरोनाका सबै लक्षण मिल्ने देखिएको छ। आइसोलेसनमै राख्नैपर्ने अवस्था छ’, उनले भने, ‘सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताले राख्न अस्वीकार गरेपछि समस्या भएको छ। अब हामीले नै यहाँ बेड खाली गरेर राख्नुपर्ने अवस्थामा छाँै।’ सशस्त्रले लिन नमानेपछि टेकुको आइसोलेसन वार्डका सामान्य बिरामीलाई पाटन अस्पताल पठाउने तयारी गरिएको छ। पाटनका बिरामीलाई टेकुको जनरल बेडमा ल्याएर टेकुको आइसोलेसन वार्डको बेड खाली गर्ने योजना चिकित्सकले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *