झापाका युवक कोरोना संक्रमित युवतीसँग नआएको पुष्टि
Published:
by .
झापा । फ्रान्सबाट आएकी कोरोना संक्रमित नेपाली युवतीसँग झापाका एक युवक नआएको पुष्टि भएको छ।
ती युवतीसँगै एउटै विमानमा आएको भन्ने हल्ला चलेपछि कतारबाट झापा आएका बैगुनधुरा निवासी ती युवकको विमान नम्बर नै नमिलेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी युवती कोरोना भाइरस संक्रमित भएको भेटिएपछि कतारबाट एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर सम्पर्कमा आएका थिए।
युवक आफै मंगलबार बिहान भद्रपुरस्थित कलवलगुढी प्रशिक्षण केन्द्रको अस्थायी क्वारेन्टाइनमा पुगेक प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। ‘पछि ती युवकको विवरण बुझ्दै जाँदा कतारबाट नेपाल आएको विमान नम्बर नै नमिलेको पुष्टि भयो,’ उनले भने। यता युवकलाई क्वारेन्टाइनमा नराखेर मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा पठाइएको र उनको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ। तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब थ्रोट परीक्षण पठाउने यातायातको साधन ठप्प हुँदा समस्या उत्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ।
Comments