Sajhamanch Archive

जनताको घरैमा उपभोग्य वस्तु पुर्‍याउन सरकारले दियो यस्तो निर्देशन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ जारी गरेको आज (बिहीबार) तेस्रो दिन भइसकेको छ ।

सरकारको लकडाउन आदेशका कारण देशभरका नागरिक ‘सेल्फ क्वारेन्टाइन’ मा रहेका छन् । सडक चोक, शहर, किनमेलका हाटबजार र पसल बन्द छन् । सबै मानिस घर भित्र बसेको र उद्योग कलकारखानालगायत सबै व्यवसाय ठप्प भएका कारण दैनिक मजदुरी गर्ने मात्र होइन अन्यलाई समेत किनमेलमा समस्या हुन थालेको छ ।

यहि अवस्थालाई मध्यनजर गर्दै सरकारले दैनिक उपभोग्य वस्तु जनताको घर–घरमा पु¥याउन सरकारले उद्योगी–व्यावसायीलाई निर्देशन दिएको छ ।

उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेहरूलाई लकडाउन अवधिभर उपभोक्ताको मागअनुसार घर घरमा खाद्यवस्तु पुर्‍याउन बिहीबार गृह मन्त्रालयले निर्देशन दिएको हो ।

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार उद्योगी–व्यवसायी, काठमाडौंमा सुपर मार्केट र ग्रोसरी, खाद्य स्टोर सञ्चालन गर्ने तथा महानगरपालिका कार्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो ।

लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन गृहले व्यवसायीलाई आग्रह गरेको छ ।

‘उपभोग्य वस्तुको होम डेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयबाट सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

गृहले लकडाउन अवधिमा कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *