Sajhamanch Archive

कोरोनाबाट विश्वका ६४ हजार बढी मानिसको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वका साढे ६४ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ ।

चीनको वुहानपछि कोरोनाको दोस्रो केन्द्र देखिएको अमेरिकामा सबैभन्दा बढी कोरोनाका संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या तीन लाख ११ हजार नाघेको छ । अमेरिकामा ८ हजार ४ सयभन्दा बढीको कोरोनाबाट ज्यान गइसकेको छ ।

१२ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा दुई लाख ४६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४२ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १५ हजार तीन सयभन्दा छन् भने स्पेनमा ११ हजार ९ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या एक लाख २६ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या एक लाख २४ हजार ६ सय नाघेको छ ।

फ्रान्समा मृतकको संख्या ७५ सय नाघेको छ । बेलायतमा ४३ सय नाघेको छ । इरानमा मृतकको संख्या ३४ सय नाघ्दा चीनमा यो संख्या ३३ सय २९ छ । भारतमा ९९ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण ‘धेरैको ज्यान जाने’ ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबाट धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

शनिबार अमेरिकामा भाइरस संक्रमित संख्या ३ लाख नाघेपछि उनले यस्तो चेतावनी दिएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । ‘दुर्भाग्यवश धेरैको ज्यान जान सक्छ’, राष्ट्रपति ट्रम्पले भने, ‘सायद यो साता र आउँदो साताका बीचका दिन सबभन्दा जटिल हुनेछन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *