Sajhamanch Archive

कांग्रेसका नेताबिच आपसमै झगडाका कारण बनेन विधान मस्यौदा समिति

Published: (Updated: ) in राजनीति, by .

काठमाडौं ।  नेपाली कांग्रेसको विधान परिमार्जनका लागि गठन गर्ने भनिएको विधान मस्यौदा समिति वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहबाट समितिमा बस्नेको नाम नदिँदा अन्योलमा परेको छ।

गत बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले बिहीबार नै आफ्नोतर्फबाट नाम दिन तयार भएका थिए। तर उनले अहिलेसम्म आफ्नो समूहबाट समितिमा बस्नेको नाम पठाउन नसक्दा मस्यौदा समिति अन्योल बनेको हो।

पौडेल समूहले नाम पठाउने बित्तिकै सभापति शेरबहादुर देउवा समिति गठन गर्न तयार भएको बताइएको छ। तर पार्टीभित्रको तेस्राने धारका कारण अहिले विधान मस्यौदा समिति गठनका लागि समस्या भएको छ।

पार्टीभित्र तेस्रो धार चलाउँदै आएका नेता कृष्णप्रसाद सिटौला समूहले पछिल्लो समय नेतृत्वसँग असन्तुष्ट छन्। केही समय अघि पौडेल समूहसँग सिटौला समूह नजिक भएकाले सभापति देउवाले पौडेललाई नै सिटौलालाई मनाउने जिम्मा दिएका थिए।

तर नेता सिटौला पछिल्लो समय पौडेलसँग पुनः असन्तुष्ट भएका छन्। सभापति देउवाले विधान मस्यौदा समिति ९ सदस्य बनाउन प्रस्ताव गरेका छन्। जसमा संयोजकसहित पाँच जना देउवा समूहका रहने छन् भने पौडेल–सिटौलाबाट चार जना रहने छन्।

पौडेल समूहबाट नाम आउने हो भने सभापति समिति गठन गर्न तयार रहेको सहमहान्त्री डा.प्रशाशशरण महत बताउँछन्। ‘रामचन्द्र दाईले नाम पठाउनु भएको छैन’, उनले भने, ‘यही कारण समिति गठन हुन नसकेको हो।

नाम आए सभापति समिति गठ गर्न तयार हुनुहुन्छ।’ तर सिटौलाले ढिलाई गरेका कारण पौडेलले समिति गठनका लागि नाम दिन नसकेको बताइएको छ।  यो भागबन्डामा सिटौला सन्तुष्ट नरहेको सिटौला निकट स्रोतले बताएको छ। पार्टीभित्र नयाँ गुटको ‘एक्सरसाइज’ गरिरहेका सिटौला समूहलाई सभापतिले ‘बाइपास’ गर्न खोजेको भन्दै उनी असन्तुष्ट छन्।

पछिल्लो समय प्रकाशमानसिंह, सिटौला, अर्जुननरसिंह केसी, डा. शेखर कोइरालालगायत नेताले नयाँ गुटको तयारी गरिरहेको स्रोतले बताएको छ। पछिल्लो समय सिटौला पार्टी सभापति र वरिष्ठ नेता सहभागी कार्यक्रममै सहभागी हुन छाडेका छन्।

त्यसकारण सिटौलाले मस्यौदा समितिमा पनि नाम दिन चासो देखाएका छैनन्।  सिटौलाले नाम दिन चासो नदेखाएपछि पौडेल पनि संकटमा परेका छन्। सभापतिले पौडेललाई नाम दिनका लागि दबाब दिइरहेका छन्।

तर पौडेललाई सिटौलाले ‘रेस्पोन्स’ नगर्दा पौडेल यसबेला अफ्ठ्यारोमा परेका हुन्। उनी देउवा नजिक भएको भन्दै सिटौला क्रमश टाडिँदै गएका छन्।  मस्यौदा समिति देउवा समूहबाट संयोजकमा महामन्त्री पूर्णबहादुर खड्का जाने लगभग निश्चित छ। यस्तै, सदस्यमा मानबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की नाम पनि चर्चामा छन्।

यस्तै महिलाबाट डिला संर्गौला र पुष्पा भुसालमध्ये एक जनाको निश्चित जस्तै रहेको स्रोतले बताएको छ। अन्य एक जनामा जनजाती वा मधेसी समुदायबाट एक जना रहने छन्। यस्तै, पौडेलले आफू र सिटौला समूहबाट भने नवीन्द्रराज जोशी, जीवन परियार, डा.रामशरण महत गगन थापा र मिनेन्द्र रिजालको नाम चर्चामा छ।

तर पछिल्लो समय रिजाललाई पौडेल समूहले विश्वास गर्न छाडेका छन्। महामन्त्री डा. शशांक कोइराला निकट मानिएका रिजालको पछिल्लो गतिविधिप्रति पौडेल समूहले शंका गर्दै आएको छ।

संसदीय दलको निर्वाचनमा पौडेल निकट मानिएका महामन्त्री कोइराला र रिजालसहितका नेताले पौडेल समूहलाई धोका दिएको भन्दै उनीहरूप्रति असन्तुष्ट छन्। संसदीय दलको निर्वाचनमा पौडेल समूहबाट संसदीय दलको उम्मेदवार प्रकाशमानसिंहलाई धोका दिएर सभापति देउवालाई सहयोग गरेको उनीहरूमाथि आरोप छ।

मस्यौदा समितिमा नाम दिन ढिलाई भएसँगै भदौमा महासमितिको बैठक टर्ने सम्भावना बढ्दै गएको छ। विधान परिमार्जनका लागि बोलाइएको महासमिति बैठक मस्यौदा समिति नबन्दा सर्ने सम्भावना बढ्दै गएको हो।

‘विधान परिमार्जन समितिले काम गर्न पनि समय लाग्छ’, सहमहामन्त्री डा.महत भन्छन्,‘महासमिति सार्न हुँदैन भन्ने हाम्रो उद्देश्य हो। तर समिति नबन्दा बैठक सर्ने सम्भावना बढ्यो।’

-थाहाखबरबाट

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *