Sajhamanch Archive

महामारीका बेला ‘सम्पर्कविहीन’ हुने पाँच चिकित्सक निष्काशित

Published: in राष्ट्रिय समाचार by .

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विना जानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ ।

अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा खनालले बताए ।

सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा. वरदान वली र डा ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्की छन् ।

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । उनले भने, ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन ।’

सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *