Sajhamanch Archive

भारतमा मजदुरको प्रदर्शन, क्वारेन्टाइनबाट हजारौं भागे

Published: in राष्ट्रिय समाचार by .

नयाँदिल्ली। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भारतमा जारी लकडाउन लम्बिएपछि त्यसको अवज्ञा गर्दै मजदुरहरुले प्रदर्शन थालेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन बढाएपछि मुम्बई शहरमा हजारौं मजदुरले विरोध प्रदर्शन गर्दै लकडाउन उल्लंघन गरेका छन् । विभिन्न ठाउँबाट मुम्बई पुगेका मजदुरले बान्द्रा रेल स्टेसनमा घर फर्कन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

मोदीले अगामी साता पहिलेको भन्दा लकडाउन थप कडा हुने बताएपछि मजदुरहरूले सडकमा प्रदर्शन थालेका हुन् । लकडाउनको अवधि लम्बिएपछि भारतको विहार र उत्तर प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहेका मजदुर बाहिर निस्किएर विरोधमा उत्रिएका छन् । अधिकांश मजदुर मंगलबार लकडाउन अन्त्य भएपछि घर फर्कने आशामा रहेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार मजदुरलाई लखेट्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रहरी अधिकारीका अनुसार उत्तर प्रदेश र पश्चिम बंगालबाट आएका हजारभन्दा बढी मजुदर प्रदर्शनमा सहभागी भएका छन् । भारतका विभिन्न शहरमा लकडाउनका कारण करिब १० करोड मजदुर अलपत्र परेको सञ्चारमाध्यमले जनाएका छन् । कपितय भने सयौं किलोमिटर हिंडेरै घर पुगेको जनाइएको छ ।

आर्थिक प्याकेज नल्याएको भन्दै सरकारको आलोचना
प्रधानमन्त्री मोदीले लकडाउनको पालना गर्न आश्वान गरे पनि मजदुरहरुको समस्याका बारेमा नबोलेको विरोधमा उत्रिएका मजजुरको गुनासो छ ।

प्रधानमन्त्री मोदीले कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्ने गरी कुनै आर्थिक प्याकेजको घोषणा नगरेपछि भारतका ठूलो संख्यामा मजदुर भड्किएका छन् । मोदीसँगको भिडियो कन्फरेन्समा मुख्यमन्त्रीहरूले पनि आर्थिक क्षेत्रमा परेको नकारात्मक प्रभावलाई सम्बोधन गर्ने गरी विशेष प्याकेज ल्याउन माग गरेका थिए ।

विपक्षीहरूले पनि लकडाउनको निर्णय सही भए पनि अर्थतन्त्रमा परेको असरबारे केही नबोलिएको भन्दै मोदीको आलोचना गरेका छन् । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री पी चिदम्बरमले ट्वीट गर्दै गरिबहरूको जीवनसँग सरकारको कुनै चासो नभएको भन्दै सरकारको आलोचना गरेका छन् । ‘लकडाउन लम्ब्याउनु ठीक हो तर गरिबहरूलाई त्यत्तिकै छाडिएको छ । पैसा छ, खाद्य सामग्री छ तर सरकारले कुनै व्यवस्था गरेको छैन,’ चिदम्बरमले लेखेका छन् ।

गरिबहरूलाई राहत दिनुपर्छ भनेर पूर्वगर्भनर रघुराम राजनदेखि अर्थशास्त्री अभिजित बनर्जीसम्मले सुझाव दिए पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

केही दिनअघि मात्र पूर्वगर्भनर तथा वरिष्ठ अर्थशास्त्री राजनले एउटा ब्लग लेख्दै सरकारले लकडाउनसँगै गरिब, किसान तथा साना व्यापारीलाई लक्षित गर्दै विशेष आर्थिक प्याकेज ल्याउन ढिलाइ गर्न नहुने सुझाव दिएका थिए । अन्यथा भाइरसको संक्रमण नियन्त्रण आए पनि मुलुकले आर्थिक रूपमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत उनले दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *