Sajhamanch Archive

राष्ट्रियसभामा सांसदहरुबीच भनाभन: बैठक स्थगित

Published: in राष्ट्रिय समाचार by .

 काठमाडौं । राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे ।

लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।

त्यसपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षको अनुमति विनानै दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेका बेला बोलेका नेकपाका प्रमुख सचेतक भट्टराई सदन चल्नुपर्छ भन्दै जबरजस्ती सदन रोक्न पाईदैन भन्ने अभिव्यक्ति राखेपछि फेरी काग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गरे ।

त्यसपछि बैठकमा होहल्ला सुरु भयो । चोर औला देखाई देखाई सांसदहरु भनाभनमा उत्रिदा अध्यक्ष तिमिल्सिना भने आसनग्रहण गर्न आग्रह गर्दै थिए ।

अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरु बोलिरहेपछि अध्यक्ष तिमिल्सिनाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलीलाई स्मरण गराए ।

निकै समयपछि सत्तारुढ दलका सांसदहरु सिटमा बसे पनि प्रतिपक्षी दलका सदस्य उभिइरहेपछि अध्यक्षले बैठक साउन ९ गते बुधबार विहानसम्मका लागि स्थगित भएको जानकारी गराए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *