Sajhamanch Archive

देशभर झण्डै ३० हजारको कोरोना परीक्षण, ७७ जिल्लाबाटै -यापिड टेस्ट सुरु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । देशभर हालसम्म झण्डै ३० हजार जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र -यापिड डाइनोस्टिक विधिको प्रयोग गरि देशभर जम्मा २९ हजार ५६७ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार पिसिआर विधिबाट ८ हजार ८१ र -यापिड डाइनोस्टिक किटबाट २१ हजार ४८६ जनाको कोरोना परीक्षण गरिएको छ । उनले जनाएअनुसार गत २४ घण्टामा मात्रै २ हजार १६८ जनाको नयाँ परीक्षण भएको छ ।

शनिबारदेखि देशका सबै जिल्लामा -यापिड परीक्षण सुरु गरिएको देवकोटाले जनाए । सबैजसो प्रदेशमा परीक्षण किटहरु थप गरिएको र परीक्षणलाई प्रभावकारी बनाउँदै लगिएको उनको भनाई छ ।

यसैगरि हालसम्म देशभर ५ हजार १८० जना क्वारेन्टाईनमा रहेका छन् । जसको संख्या दैनिक घट्दो रहेको जनाइएको छ । कोरोना परीक्षणसँगै नेगेटिभ देखिएकालाई घरमा पठाइएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

आइतबारसम्म देशभर १०३ जना बिरामी आइसोलेसनमा बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनाइएअनुसार १०५ जनामध्ये उपत्यकामा ५ जना र उपत्यका बाहिर ९८ जना रहेका छन् ।

यसैबीच सेती अस्पतालमा उपचारको क्रममा रहेका २१ वर्षे युवक कोरोना संक्रमणबाट मुक्त भएसँगै डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले उनको पछिल्लो कोरोना परीक्षण नेगेटिभ देखिएसँगै डिस्चार्ज गरिएको जनाएको छ । शनिबार मात्रै बाग्लुङ्गकी ६५ वर्षीया महिला कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हाल देशभर २७ जना कोरोना संक्रमित छन् । चार जना कोरोना मुक्त भएका घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *