Sajhamanch Archive

तीन वर्षअघि निर्माण सक्नु पर्ने पुलको काम चालिस प्रतिशत, ठेकेदार सम्पर्कविहीन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई सडकले जोड्ने उद्देश्यका साथ ७ वर्ष अघिबाट निर्माणाधिन पुलको काम छोडेर ठेकेदार सम्पर्कविहीन भएका छन् ।

पाँचथरको कुम्मायक गाँउपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई सडक सञ्जालबाट जोड्ने तमोर नदीको लुमुघाटमा निर्माण भइरहेको पुलको काम छोडेर निर्माण कम्पनी सम्पर्कविहीन भएको हो । यो पुल निर्माणको कार्य २०६८ सालमा सुरु भएको थियो । तर, पुल निर्माणको कार्य आधा पनि नसकिँदै निर्माण व्यवसायी र तिनका कर्मचारी सम्पर्कविहीन भएका हुन । निर्माण व्यवसायीले काम छाडेसँगै पुलको निर्माण अलपत्र बनेको छ ।

लुमुघाटमा तमोर नदीमा एक सय ५७ मीटर लम्वाई र ३ मीटर चौडाईको पुल निर्माणको कार्य भइरहेको थियो । वि.सं. २०७२ साल असार २५ गतेभित्र पुल निर्माणको कार्य सम्पन्न गर्नुपर्ने थियो । तर, पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीले भूकम्प, वाढी पहिरो, नाकावन्दी, पहुँच मार्गको अभाव लगायत समस्याहरु देखाउँदै पटक–पटक म्याद थप गर्दै आएको थियो । तोकिएको करीव आधा मात्रै काम सम्पन्न गरेर गत वैशाखको पहिलो हप्ताबाट निर्माण कम्पनी र यसका कर्मचारीहरु वेखबर छन । १७ करोड रुपैँयामा निर्माणको ठेक्का ‘स्वच्छन्द निर्माण सेवा काठमाण्डौँ’ले लिएको थियो ।

सडक विभाग अन्तर्गत पुल सेक्टर र निर्माण कम्पनीवीच ८ ओटा पिल्लर सहितको पुल ढलाई र रेलिङ हाल्नुपर्ने सम्झौता भएको थियो । तर, सम्झौताअनुसार पुलका चार ओटा पिल्लरको काम सकेर व्यवसायी वेखबर भएका हुन । सम्झौताअनुसार निर्माणको कार्य झण्डै ४० प्रतिशत मात्रै सकिएको स्थानीयवासीको भनाई छ । पाँचथरको सदरमुकाम फिदिमबाट तेह्रथुमको सदरमुकाम म्याङलुङ पुग्ने सबैभन्दा छोटो सडक फिदिम–यासोक–लुमुघाट–म्याङलुङको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको लामो समय भएपनि पुल निर्माण भने अलपत्र छ ।

पुल निर्माण सम्पन्न नहुँदा पाँचथर–तेह्रथुम जोड्ने सबैभन्दा छोटो दुरीको यो सडक सञ्चालन आउन सकेका छैन । दुई सदरमुकामलाई सीधा सडक मार्गले जोड्ने पुल निर्माणको कार्य सम्पन्न नहुँदा दुवै जिल्लाका स्थानीयवासी मारमा परेको पाँचथर उद्योग वाणिज्य संघ यासोक शाखाका अध्यक्ष मेघराज निरौलाको भनाई छ । पुल निर्माण नहुँदा आवज–जावत र ढुवानीमा समस्या भोग्नुपरेको निरौला वताउँछन् ।

समयमा पुल नवन्दा पाँचथर र तेह्रथुम सदरमुकाम जोड्ने छोटो दुरीको यो सडकमा सवारी र ढुवानी साधन चल्न सकेका छैनन् । सडक सञ्चालन नहुँदा स्थानीय उत्पादनले समयमा वजार र मूल्य पाउन नसकेको निरौलाको गुनासो छ । पुल नबनेकै कारण लाखौँ मूल्यका स्थानीय उत्पादन बजार पुग्न सकेका छैनन । फिदिम–यासोक–लुमुघाट–म्याङलुङ सडक अन्तर्गत फिदिम–यासोक खण्डको दुरी २७ किलोमीटर, यासोक–लुमुघाट खण्डको दुरी १८ किलोमीटर र लुमुघाट–म्याङलुङको दुरी १९ किलोमीटर रहेको छ ।

पुलको अभावका कारण वारीको वारी र पारीको पारी नै सवारी साधन सञ्चालन गर्नुपर्ने वाध्यता रहेको यातायात व्यवसायीहरुको भनाई छ । यस्तै निर्माण कम्पनीले निर्माण कार्यमा खटाएका मजदुरको ज्याला समेत नदिएको स्थानीवासी तथा कामदारहरुको गुनासो छ । वालुवा र गिटीको काम गर्न जिम्मा दिइएका स्थानीयवासी र होटल व्यवसायीहरु रकम नतिरी कम्पनीका कर्मचारीहरु वेखबर भएको स्थानीयको भनाई छ ।

स्थानीय होटल व्यवसायी याम वुढाथोकी आफ्नो सानो व्यवसाय निर्माण कम्पनीका कारण बरबाद भएको गुनासो गर्छन । निर्माण कम्पनीले निर्माणको कार्यमा खटाएका कामदार र कर्मचारीहरुले खाना, वास, निर्माण सामाग्रीहरुको व्यवस्था वापत आफ्नो ४ लाख ८९ हजार दिनुपर्ने भएपनि आफूले उक्त रकम नपाएको बुढाथोकीको भनाई छ । ‘काठमाण्डौँ पुगेर आउँछौँ’ भनेर हिँडेका कम्पनीका कर्मचारीहरु अहिले सम्पर्कविहीन भएको उनको गुनासो छ ।

पुल निर्माण कार्य गिटीको प्रवन्ध गर्ने ठेक्का लिएका स्थानीय वीरेन्द्रवहादुर निरौला आफ्नो ५ लाख ५० हजार बढी रकम कम्पनीले दिन बाँकी रहेको वताउँछन् । निर्माणाधीन पुलको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङ लगायतले केही महिनाअघि निरीक्षण समेत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *