Sajhamanch Archive

नियम विपरित कारोवार गर्ने भद्रपुरका चार किराना पसल कार्वाहीमा परे

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । बन्दाबन्दीको अनुचित फाइदा लिएर व्यापारीहरूले दैनिक उपभोग्य बस्तुमा कालाबजारी गर्न थालेको जन गुनासो सुनुवाई गर्दै जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले भद्रपुरमा अनुगमनका क्रममा नियम विपरित कारोवार गर्ने ४ वटा पसललाई कारवाही गरेको छ ।

समितिले सोमबार भद्रपुर बजार क्षेत्रमा अनुगमन गर्ने क्रममा कालाबजारी तथा आधारभूत नियम पालना नगर्ने चारवटा किराना पसललाई स्थलगत अनुगमनपछि ३ हजारदेखि १० हजारसम्म जरिवाना गरेको हो । दैनिक उपभोग्य सामग्रीमा रातारात मूल्य बढाएर लाखौं कमाउन खोज्ने कालाबजारी व्यापारिक समूह प्रशासनको निशानामा पर्न थालेपछि उपभोक्ता ठगिने क्रम घट्ने आशा पलाएको छ । झापाका अधिकांश व्यापारीले बन्दाबन्दीलाई बाहना बनाएर उपभोग्य सामग्रीमा अस्वभाविक मूल्य बृद्धि गरिरहेको अवस्थामा राज्यको जिम्मेवार निकाय प्रशासनले सकृयता देखाउनुले ठगि बिरूद्ध जनआवज उर्लने आशा पलाएको हो ।

सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाको वडा नम्बर ६ र ७ मा सञ्चालनमा रहेका केही किराना पसले बिल विजक जारी नगरेको, कर पाटी नराखेको, कारोवार स्थलमा मूल्य सूचि खाता नराखेको पाइएपछि समितिले कालाबजारीको आसंकामा सो जरिवाना गरेको जनाएको छ । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भद्रपुर बजारको पार्वती किराना पसल, सगरमाथा चोकको रिजाल किराना पसल, भद्रपुर–६ स्थित सरस्वती स्टोर, लक्ष्मी स्टोर, शिवशक्ति स्टोर, भद्रपुर–७ को हाम्रो किराना पसल र सुप्रिम स्टोरमा अनुगमन गर्दा चार वटाले मनपरी ढंगले कारोवार गर्ने गरेको पाइएकोले जरिवाना गरिएको जानकारी दिए ।

सरस्वती स्टोरलाई विल विजक जारी नगरेकोमा ५ हजार, खरिद विक्री खाता नराखेकोमा रु एक हजार गरी ६ हजार, लक्ष्मी भण्डारलाई रु ६ हजार, शिवशत्ति स्टोरलाई रु ३ हजार र सुप्रिम स्टोरलाई रु १० हजार गरी जम्मा २५ हजार जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।

अनुगमन समितिको नेतृत्व गरेका सहायक प्रजिअ राईले यी पसलेहरूले बजार मूल्यभन्दा बढीमा किराना सामान विक्री गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको बताए । तर, अनुगमन समिति पसलमा पुग्दा उनीहरूले तय गरेको मूल्यको दररेट, विल र खाता समेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएकाले जरिवाना गर्नु परेको उनको भनाइ छ ।

झापामा बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालो बजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको जनाएको छ । समितिले उपभोक्ताहरूलाई सचेत भएर समान खरिद गर्न र तोकिएको भन्दा बढी मूल्यमा सामान बिक्री गर्ने पसल भेटिए तुरून्त प्रहरी प्रशासनमा खवर गर्र्न समेत आग्रह गरेको छ । तर, सामान आयात हुन नसकेको बाहना बनाएर उपभोक्तालाई बढी मूल्यमा सामग्री बेच्ने पसललेको मनोवल गिराउन नसकिँदा कालोबजारी नियन्त्रण हुन सकिरहेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *