Sajhamanch Archive

‘सुपरजोन’मा सिञ्चाईको समस्या, आकाशे पानीको भर पर्दा मोटर चलाएरै खेती

Published: (Updated: ) in समाज, by .

बनियानी । दुई वर्षअघि झापालाई धानको ‘सुपरजोन’ घोषणा गरेपनि सिञ्चाई सुविधाको अभावमा किसान जहिले पनि आकाशे पानीको भरपर्नु पर्ने बाध्यता छ ।

जिल्लामा पर्याप्त सिञ्चाई सुविधा नभएकै कारण किसान जहिल्यै पनि खेती गर्ने बेलामा आकाशे पानीको भर पर्नु परेको हो । धानको ‘सुपरजोन’ घोषणा भएको झापाका किसानहरुले अहिले पनि खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको छ । उचित सिँचाइ सुविधा नहुँदा ‘सुपरजोन’ घोषित साविक केचना, पृथ्वीनगर, बनियानी, पाठामारी, बालुबाडी र पथरियाका किसानले अहिले पनि आकाशे पानीकै भर पर्नु परेको हो । साउन लाग्दा समेत खेती गर्न पानी नपरेका कारण ‘सुपरजोन’ घोषित क्षेत्रका किसानहरु समस्यामा परेका छन् ।

‘सुपरजोन’ घोषणा गरे पनि सिञ्चाईका लागि उचित कदम नचालिँदा किसानहरु समस्यामा परेका हुन् । साउन लाग्दासमेत किसानहरुले भर्खर मात्र रोपाइँ शुरु गरेका छन्। आकाशे पानी समयमा नपरेपछि उनीहरु अहिले पानी तान्ने मोटरको भरमा खेत हिल्याएर मात्र खेती गरिरहेका छन् । आकाशे पानीको भर पर्दा अहिलेसम्म पानी नपरेकाले मोटर चलाएरै खेती गर्न शुरु गरेको साविक केचनाका किसान शंकर दुलालले बताए ।

उनले भने, ‘साउन लाग्यो तर खेती गर्न पानी नै आएन, त्यसैले अब मोटरबाट खेतमा पानी लगाएर रोपाई शुरु गरेका छौँ’ । ‘सुपरजोन’ परियोजना ल्याए पनि आफूहरुले केही सुविधा पाउन नसकेको उनले बताए । ‘सुपरजोन शुरु भयो भन्छन्, तर हामीले अहिलेसम्म केही पाएका छैनौँ, धानको बिउ पनि बाड्ने भन्थे अहिलेसम्म दिएका छैनन्, कहिले दिने हुन् केही थाहा छैन ।’

उनले आफूहरुलाई सबैभन्दा पहिला सिञ्चाईकै आवश्यकता परेको बताए । उनले भने, ‘हामीलाई अहिले तत्काल सिञ्चाईको आवश्यकता छ, अरु त जसो तसो चलाइन्छ ।’ खेतमा पानी अभावका कारण आफ्नो दुई बिघा खेती शनिबारबाट मात्र शुरु गरेको दुलाल बताउँछन् ।

यस्तै, पाठामारीकै अर्का किसान बलु बास्तोलाले बल्ल—बल्ल आकाशे पानी आएर असारमा रोपेको धान पनि पानी नभएकाले सुकिसकेको बताए । उनले भने, ‘असार सकियो यतिबेला खेती पनि सकिनुपर्ने हो, तर आधा पनि बनाएका छैनौँ, असारमा दुख गरेर रोपेको धान पनि पानी नभएर मर्न लाग्यो ।’ सबै ठाउँमा मोटरले खेती गर्न पनि सम्भव नहुँने उनी बताउँछन् ।

उनी भन्छन्, ‘पानी परेको भए यतिबेला अस्ति सक्ने थियौँ । सबैतिर मोटर प्रयोग गरेर पानी तान्न पनि सकिँदैन, सबै खेतमा बिजुली पनि पुगेको छैन, भएकोमा पनि आजकाल बिजुली धेरै जान थालेको छ ।’

परियोजनाले कृषकका लागि भन्दै एउटा सौर्य मोटरसहित ४० वटा बोरिङ मेसिन राख्दासमेत सिञ्चाईकै अभाव भएको छ । परियोजनाले १५ लाखको लागतमा एउटा पानी तान्ने सौर्य मेसिन राखेको छ भने अन्य ४० वटा बिजुलीबाट जल्ने मोटर कृषकलाई वितरण गरेको छ । तर, कृषकहरुले भने यो पर्याप्त नभएको गुनासो गरेका छन् ।

स्थानीय कृषक कृष्णा खनालले पर्याप्त मोटर नबाँडेको गुनासो गरिन् । उनले पहुँच वालाको क्षेत्रमा मात्र मोटर बाँडेको बताइन् । उनले भनिन्, ‘गाउँमा मोटर त बाँडेका छन्, तर हामी गरिबलाई होइन पहुँच भएकालाई र आफन्तलाई बाढेका छन् ।’

दुई वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर एक अन्तर्गतको झापाका साविक ६ गाविसलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत धान ‘सुपरजोन’ घोषणा गरे । कृषकलाई सुबिधा उपलब्ध गराउँदै उत्पादन बृद्धिमा जोड दिने उद्देश्यले १० वर्षे परियोजनाको उद्घाटन गरिएको थियो । तर, यो परियोजनामा कसरी सहभागीता जनाउने भन्नेमा किसान अन्योलमा परेको पाइएको छ ।

यस क्षेत्रमा रहेको १२ सय हेक्टर खेती योग्य जमिनमा आधुनिकीकरणबाट धान उत्पादन गर्ने लक्ष्यका साथ शुरु गरिएको परियोजनामा वास्तविक किसानहरुलाई आबद्ध हुन चेतनाको कमि देखिएको छ । त्यहाँ रहेका ६ सहकारी र १८ कृषि समुहमार्फत परियोजनामा आबद्ध हुनु पर्ने भएपनि धेरै किसानहरु भने समुहमा आबद्ध नभएको पाइएको छ ।

कचनकवलकी कृषक खनालले आफूहरु अहिलेसम्म ‘सुपरजोन’ परियोजनामा समावेश हुन नसकेको बताइन् । उनले भनिन्, ‘परियोजना आयो अरे त भन्छन्, तर हामीले यसमा कसरी आबद्ध हुने थाहा पाएका छैनौँ ।’ परियोजनामा अबद्ध भएका केही कृषकले पानी तान्ने मोटर पाएको तर आफूहरुले पाउन नसकेको उनले बताइन् । उनले भनिन्, ‘परियोजनामा आबद्ध हुन समुह चाहिन्छ भन्छन्, तर हाम्रो पनि समूह त छ, तर कस्तो खालको समूह हो त्यो चाहीँ थाहा छैन ।’

धान ‘सुपरजोन’ परियोजना क्षेत्रका किसानहरुले धान उत्पादन गरे पनि बजार र मुल्यकै समस्या हुने बताएका छन् । आफूहरुले उत्पादन गरेको धान समयमा बिक्री नहुनु र भए पनि मूल्य नपाउनु कृषक कमला न्यौपाने बताउँछिन् । उनी भन्छिन्, ‘हामीले जसो तसो खेत त रोप्छौँ तर, पछि बेच्ने बेलामा बजार पनि पाउँदैनौँ पाएपनि मुल्य कम हुन्छ ।’ उनले आफूहरुले उत्पादन गरेको धानको सरकारले मुल्य निर्धारण र बजार ब्यवस्थापन गर्नु पर्ने माग गरिन् ।

कृषकलाई सहज रुपमा कृषि यन्त्र उपलब्ध गराई कृषिलाई आधुनिकीकरण गर्न आफूहरु लागि परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘सुपरजोन’ कार्यक्रमको कार्यालय बनियानीले जनाएको छ । प्रधानमन्त्री कृषि औद्योगिक क्षेत्र धान सुपरजोन सञ्चालक समितका अध्यक्ष नवराज भट्टराईले परियोजना अन्तरगत स्थानीय स्तरमा जनचेतनाका काम गर्दै गरेको बताए ।

उनले कार्यालयले कृषकलाई कृषि समूह तथा सहकारीमार्फत अनुदानमा कृषि यन्त्र उपलब्ध गराएको बताए । उनले भने, ‘अहिले हामी कृषिलाई आधुनिकीकरण गर्न कृषि यन्त्रहरु सहकारी तथा कृषि समूहमार्फत कृषकलाई कृषकको ५० प्रतिशत लगानीमा वितरण गरिरहेका छौँ, जसले कृषको लागतमा बचत हुने र उत्पादनमा बृद्धि हुने अपेक्षा हाम्रो छ’ ।

यस क्षेत्रका किसानहरु शिक्षाको हिसावले तल रहेकाले पनि परियोजनामा अबद्ध गराउन समस्या भएको उनी बताउँछन् । उनले कृषले उत्पादन गरेको धान भण्डार गर्न र बजार ब्यवस्थापन गर्न पोष्ट हार्भेष्ट सेन्टर र आधुनिक कृषि औजारहरु उपलब्ध गराउन कस्टम हार्भेष्ट सेन्टर स्थापना भइसकेको छ । उनले ‘सुपरजोन’ क्षेत्रमा ८० प्रतिशत रोपाई भएको बताए ।

‘धान उत्पादनको पकेट क्षेत्र रहेका किसानलाई विद्युतियकरणको व्यवस्था राज्यले गर्नु पर्छ’, अध्यक्ष भट्टराईले भने—‘झापामा धान उत्पादन बढाउन सिञ्चाईका लागि विद्युत आवश्यक छ ।’ किसानले उत्पादन गरेको धानको भण्डारण गर्ने व्यवस्था नहुँदा व्यापारीले मुल्य तोक्ने परम्परा छ, यसको अन्त्य गर्न जरुरी रहेको उनले बताए । परियोजना मार्फत २०७४÷०७५ मा ७० लाख रुपैयाँको किसानलाई अनुदान दिइएको छ ।

२०७५÷०७६ का लागि सिञ्चाई विकास डिभिजन कार्यालय झापामा धानको ‘सुपरजोन’का लागि ३ करोड ९१ लाख रुपैयाँ बजेट छुट्टिएको बुझिएको छ । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार धानको पकेट क्षेत्र झापामा आइतबारसम्ममा ६५ प्रतिशत रोपाई सम्पन्न भएको जनाएको छ । कृषि विकास कार्यालयका प्रमुख प्रकाश डाँगीका अनुसार जिल्लामा ६५ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

उनले यसपटक पानी नपरेकोले ढिलो मात्र रोपाई शुरु भएको जानकारी दिए । उनले भने्, ‘यस पटक पानी खासै नपरेकोले गर्दा ढिलो मात्र रोपाई शुरु भएको छ, किसानहरुले बिउ नै यसपटक ढिलो राख्नुभयो ।’ उनका अनुसार जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान लगाइएको बताए । जिल्लामा गतवर्ष ९५ प्रतिशत धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *