Sajhamanch Archive

लघुकथाः नेपाल बन्द

Published: in लोकप्रिय, शिक्षा, by .

राजीव सुतिरहेको अवस्थामा एकाबिहानै उसको भतिज ओछ्यानमा आएर सोध्छ, ‘अंकल आज नेपाल बन्द हो ?’

‘खै ! भतिज मलाई थाहा भएन । अचेल पिसाब फेर्न ट्वाइलेट जाँदा ठेस लाग्यो भने पनि नेपाल बन्द गरिन्छ । किन तँलाई स्कूल जान मन लागेन कि कसो ?’

‘त्यस्तो त होइन । आज साथीको ब्रतबन्ध छ, मलाई स्कूल नगई छिट्टै आइज है भन्थ्यो ।’

‘चुपचाप स्कूल जानुको सट्टा के को ब्रतबन्ध विहे ताक्छस् । खुरुक्क स्कूल जानु बुझिस् ।’

‘साँच्चै भन्नुहोस् न अंकल आज नेपाल बन्द हो त ?’

‘ल ! आज नेपाल बन्द ।’

‘किन ?’

‘किनकी तीन महिनादेखि विहे गर्ने भनेर राम्री केटी खोजेर हिंडेको, जुत्ता फाटे तर भनेजस्ता केटीले पत्याउँदा पनि पत्याएनन् । सबै टोलटोलमा उर्दी जारी गर । बजार, कलकारखना बन्द गर्न, यो पनि भन् खतरनाक समूहको बन्द हो जे पनि हुनसक्छ । कतै तेरो इच्छा पूरा हुन्छ कि त ?

अंकलको कुरा सुनेपछि भतिज उफ्रँदै कोठा बाहिर गयो । राजीव पनि पूरै उज्यालो भइसकेकाले उठेर सरसफाइमा निस्कियो । सधैं मुख धोएर कोठामा आइपुग्दा चिया लिएर आउने भतिजको भने अत्तोपत्तो थिएन । उसले आज आफैं चिया लिएर आयो र एक्लै कोठामा बसेर पिउन थाल्यो ।

एकछिन पछि ‘आमा आज नेपाल बन्द भयो नि !’ भन्दै घर छिरेको भतिजलाई देख्छ । राजीवले भतिजालाई बोलाउँदै भन्छ, ‘राकेश यहाँ आइज त । तँ कहाँ गएको थिइस् । काम छैन तेरो ?’
‘नेपाल बन्द गर्न ।’

‘हँ ! खुस्कियो कि कसो ?’

‘अघि तपाइँ आफैंले नेपाल बन्द गर्ने भन्नु भएको होइन ? त्यसैले मैले सबैतिरका टोलटोलमा प्रचार गरेर आएँ । त्यसैले अब साँच्चै बन्द भयो ।’
‘मेरो नाम लिएर टोलभरि बेइज्जत गरिस् कि कसो ? तँलाई त जिस्क्याएको मात्र थिएँ नि !’

‘मलाई त्यति बेवकुफ नसम्झनु है अंकल, आइडियावाल मान्छे पो त म ….!’

घर अगाडि सयौंको संख्यामा सवारी साधन गुड्ने सडक थियो । आज त्यहाँ एउटा पनि सवारीको साधन गुडेको देखिँदैन । राजीव आश्चर्य मान्छ, ‘साँच्चै बन्दै भयो कि कसो ! उसको मनमा खुलदुल चल्छ । भात खाएर बजार डुल्न भनेर ऊ निस्कन्छ ।

‘रामलखन किन पसल बन्द ?’

‘अरे दाजु थाहा छैन ? आज झनै खतरनाक समूहले नेपाल बन्द आयोजना गरेको छ । पसल खोल्यो भने ज्यान जाने धम्की छ । कसको आँट छ र पसल खोल्ने ?’

‘के छ रिक्सावाला दाइ ?’

‘ठीक छ हजुर । सधैं यसरी नै बन्द हुँदै रहोस्, यही कामना छ । हामीले मात्र सुख्खा जीवन कति बाँच्नु त ! यसो छोटो मोटो रकमले रसाउन पाउनु पर्यो नि हैन त ?’

‘के भयो दाइ ?’

‘के हुनु भाइ ! सुत्केरी हुन नसक्दा मृत्यु भयो नि ! एम्बुलेन्स बोलाउँदा आएन, बिरामी बोकेर ल्याउँदा ल्याउँदै बाटैमा ……।’

राजीव बन्दको प्रभाव हेरेर धिक्कादै भन्छ — ‘थुइक्क समय ! होहल्लाकै भरमा यस्तो सन्त्रास फैलने । अकालमा मर्नुपर्ने, बिनाकारण शोषित हुनुपर्ने, भोकभोकै मर्नुपर्ने । हल्लैहल्लाले सुन्दर भविष्य माथि खेलबाड गर्ने कस्तो नेपाल बन्द हो ?’

सोच्दासोच्दै उ घर आइपुग्छ । दिनभरको थकानले लखतरान भएर कोठामा पस्छ र खुइय …… सुस्केरा हाल्छ । बन्द, हड्ताल, हल्ला … खुइय …… ।।

भद्रपुर १०, चन्द्रगढी झापा ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *