Sajhamanch Archive

हावा हुण्डरीसहित पानी सहन गर्न बाध्य छन् सीमा क्षेत्रका प्रहरी

Published: in राष्ट्रिय समाचार, समाज, by .

झापा । नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटाइएका सुरक्षाकर्मी हावापानी र घामबाट आफैं असुरक्षित हुँदै गएका छन् ।

कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश बन्द गर्न नेपाल भारत सिमानामा परिचालित नेपाली सुरक्षाकर्मी सामान्य त्रिपाल भित्र बस्नु पर्ने अवस्थाले प्राकृतिक विपतबाट असुरक्षित हुँदै गएका हुन् ।

हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको भिन्ना भिन्नै सुरक्षा पोष्ट राखेर सीमासिलको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी सुरक्षा सामग्री तथा जनशक्ति परिचालनको हिसावमा शसस्त्र प्रहरीको तुलनामा कमजोर देखिएको छ । नेपाल प्रहरीले हरेक टोकरीमा ३ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।

एउटा सामान्य त्रिपालमा दिन रात बिताइरहेका ती सुरक्षाकर्मी दिउँसो घामको तापमा रापिन बाध्य छन् भने रातमा आउने हुण्डरीसहितको पानी सहन बिवस छन् । हुन त शसस्त्र प्रहरीको पीडा पनि कम छैन । चाइनेज टेन्ट टाँगेर सिमानासिलमा खटिएका सीमा सुरक्षा बलका जवानहरू हावापानीमा टेन्ट समाएर रात बिताउन बाध्य छन् । नेपाल प्रहरीको तुलनामा अलि व्यवस्थित देखिएको शसस्त्र प्रहरी बलको पोष्टमा ६ जनासम्म परिचालित छन् । सामान्य असिनापानीमै प्वाल परेको टेन्टमा रात बिताएर सिमानासिलको भूमिका निर्वाह गरिरहेका छन् ।

यता नेपाल भारत सिमानामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएपछि स्थानीयमा भने सीमा मिचिने र चोरी तस्करीका समस्या निराकरण भएकोमा खुसीको बास भएको छ । स्थानीय भन्छन्—“भारतीयको सिमाना थिचोमिचो रोक्ने अति बलियो उपाय अहिलेका सुरक्षा पोस्ट निरन्तर रहनु पर्दछ । चोरी तस्करी पनि रोकिने अनि सीमा अतिक्रमण पनि बन्द हुने यस अवसरलाई सरकारले निरन्तरता दिन जरूरी छ ।”

बन्दाबन्दी पालना गराउन सरकारले नेपाल भारत सिमानामा झापा जिल्लाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको गरी १५९ अस्थायी पोष्ट खडा गरेको छ । जसमा शसस्त्र प्रहरीको १२८ र नेपाल प्रहरीको ३१ वटा अस्थायी पोष्ट मार्फत सीमा शीलको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार नेपाल भारत सीमा क्षेत्र झापा जिल्लामा १४४.२ किलो मिटर रहेको छ । जसमा सीमा सुरक्षा बलका स्थायी रूपमा रहेका ८ वटा सीमा सुरक्षा पोष्टमा कार्यरत प्रहरी निरीक्षक सहित १६ जना प्रहरी निरीक्षकले नेतृत्व गरेर सीमा बन्दका लागि काम गरिरहेका छन् । सीमा क्षेत्रमा एक हजार १९३ जना सुरक्षाकर्मी परिचालित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *