Sajhamanch Archive

पाकिस्तानमा आज निर्वाचन, उदाउलान् त इमरान खान ?

Published: in राजनीति by .

पाकिस्तानमा बुधबार आम निर्वाचन हुँदैछ। नयाँ जनप्रतिनिधिका लागि पाकिस्तानी जनताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यो पाकिस्तानको इतिहासमा हुन लागेको ११ औं आम निर्वाचन हो।

झण्डै १० करोड ६० लाख मतदाताले संसदको तल्लो सदन र चार प्रान्तका संसद सदस्य चुन्नका लागि मतदान गर्दैछन्। मतदान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरु हुँदैछ। मतदानबाट २७२ सांसद प्रत्यक्ष निर्वाचित हुनेछन्। यस्तै, ७० सिट महिला तथा सीमान्तकृतका लागि छुट्याइएको छ। उक्त सिट पाँच प्रतिशत भोट ल्याउने पार्टीबीच बाँडिने छन्। पाकिस्तानको लोकतन्त्र र चुनाव जहिल्यै केन्द्रमा रहने गरेको छ।

यद्यपि, पाकिस्तानमा अहिलेसम्म लोकतन्त्रले राम्रोसँग हुर्किने मौका पाएको छैन। प्राय: चुनावमा सेनाको प्रभाव रहने गरेको छ। चुनावमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पिटिआईले नवाज शरीफको पार्टी पिएमएल–एनलाई उछिन्ने अाँकलन गरिएको छ। पछिल्लो पटक पाकिस्तानमा एक सेना प्रमुखले जनताले चुनेको सरकारलाई हटाएर अर्थात् सैन्य ‘कु’ गरेर शासन सत्ता आफ्नो हातमा लिएको १९ वर्ष भएको छ।

त्यसपछि दुई पटक लोकतान्त्रिक चुनाव भयो। पछिल्लो पटक पूर्वप्रधानमन्त्री नवाज शरीफलाई पदबाट हटाएको थियो। उनलाई भ्रष्टाचारको मुद्दामा १० वर्ष कैद सजाय तोकिएको छ। पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम भ्रष्टाचार आरोपमा जेल गएपछि पाकिस्तानको राजनीतिमा ठूलो उथल–पुथल भएको छ। तर पनि उनको पार्नी मुस्लिम लिग (नवाज) लाई अहिले पनि सत्ताको दौडमा कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *