Sajhamanch Archive

नेकपा सचिवालय बैठक: समीकरण फेरियाे, ओलीकाे बहुमत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ।

पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ शनिबार सचिवालय बैठक सुरु भएको हो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अन्य सचिवालयसँगै राखिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी शनिबारको सचिवालय बैठकमा भने फेरि ओलीसँगै राखिएको छ।

शनिबारको बैठक पार्टीका आन्तरिक अप्ठ्यारालाई किनारा लगाउन निर्णायक हुने अनुमान गरिएको छ।  बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन्। बैठकअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका थिए।

नेतासँगको भेटपछि बैठक अघि प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

शनिबारको प्रधानमन्त्रीको तिब्र भेटवार्तापछि सचिवालय बैठकबाट फेरि ‘सरप्राइज’ निर्णय आउने देखिएको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम, महासचिव पौडेल, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य बादलसँगको छलफलपछि प्रधानमन्त्री र पार्टी अध्यक्षमा आफ्नै निरन्तरता दिने बाटो खेलेका छन् ।

अघिल्लो सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बोलाइएको थियो। अर्का अध्यक्ष प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयनको योजना शनिबारको बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर शनिबारको भेटवार्ताले त्यो समिकरण तोडिएको देखाएको छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव बुधबार सचिवालय बैठकमा गरेका थिए।

राजनीतिक दल सम्बन्धी अध्यादेश विवादसँगै सत्तासीन नेकपाभित्र पनि विवाद बढेको थियो। अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतमलगायतले प्रधानमन्त्री र पार्टी अध्यक्ष छोडन दबाब दिएपछि प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने सरप्राइज प्रस्ताव गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *