Sajhamanch Archive

सीमा अतिक्रमण गरिएको लिपुलेकमा तत्काल सशस्त्र प्रहरी पठाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको दार्चुलाको लिपुलेक क्षेत्रमा सरकारले तत्काल सशस्त्र प्रहरीको टोली पठाउने तयारी थालेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रविण श्रेष्ठले नेपाली भूमि मिचिएको क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनासम्मको टोली पठाउन लागिएको बताएका छन् ।

उक्त क्षेत्रमा सशस्त्रको टोली पठाउनका लागि दार्चुलास्थित गुल्मलाई तत्काल घर भाडामा लिन निर्देशन दिइसकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘भोलि नै पनि टोली जान सक्छ । नत्र एक–दुई दिन भन्दा टाढा जाँदैन ।’

बन्दोबस्तीका सामान तयारी गरेर सेनाको हेलिकोप्टरमार्फत टोली त्यहाँ पठाउन लागिएको जनाइएको छ । सरकारले गत मंसिरमै छाङरुङेमा बोर्डरआउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको थियो । त्यतिबेला निर्णय भएका ११४ बीओपीमध्ये १३ वटा मात्रै स्थापना भएका छन् ।

एउटा किमाथाङ्कामा र बाँकी १२ वटा तराईका जिल्लामा स्थापना भएका छन् ।
चीनतर्फको सीमानामा ७ र बाँकी १०७ बीओपी भारतीय सीमानामा थप गर्ने निर्णय भएको थियो । तर, ६ महिना बितिसक्दा पनि सशस्त्रले बीओपी राख्न सकेको छैन ।

दार्चुला सदरमुकामबाट लिपुलेक पुग्न एक साता लाग्ने भएकाले नेपाल प्रहरीले पनि सशस्त्रसँगै २५ जनाको टोली पठाउने भएको छ । दुईटा प्रहरी चौकीका लागि करिब २२ जनाको टोली त्यहाँ जान लागेको स्रोतले जानकारी दिएको छ । सीमामा बिवाद बढेसँगै सशस्त्र पठाउने तयारी भएपछि नेपाल प्रहरीको टोली पनि सँगै जान लागेको हो ।

भारतले नेपालको १९ किलोमिटर भूमि हुँदै चीनसम्म जोड्ने मानसरोवर सडक निर्माण गरी उद्घाटन समेत गरिसकेको छ । भारतले एकतर्फी रुपमा नेपाली भूमि मिचेर सडक खनेपछि अहिले नेपालमा त्यस कदमको सडक र सदन दुबैबाट चर्को विरोध भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *