Sajhamanch Archive

दुई नम्बर प्रदेशमा संक्रमित बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी

Published: in राष्ट्रिय समाचार by .

लहान । प्रदेश नं २ मा कोरोना संक्रमतिको संख्या दिनहुँ बढ्दै गएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको छ ।

पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना संक्रमण नपाइएको सिरहा जिल्लालाई सुरक्षित राख्न आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंका अनुसार प्रदेश नम्बर दुईमा कोरोना संक्रमितको सख्या बढ्दै गएका कारण जोखिम बढेकाले अर्काे सूचना नआएसम्मका लागि निषेधज्ञा जारी गरिएको हो ।

संक्रमण थप फैलिन नदिन यस्तो कदम चालिएको उनले बताए । केही दिनदेखि खुकुलो पारिएको लकडाउन आज बिहानदेखि कडा पारिएको छ ।

अर्काे जिल्लाबाट आउनेबिना पासका सवारी साधन तथा पैदलयात्रीलाई फिर्ता पठाउन र लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रण लिई संक्रमण रोग नियन्त्रण ऐनअन्तर्गत कारवाही गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ ।

अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको छ ।

यस्तै छिमेकी देश भारतबाट आवतजावत पूर्णरुपमा बन्द गरिएकाले लुकीछिपी नेपाल प्रवेश गरेको पाइएमा त्यस्ता व्यक्तिलाई लुकाउने र लुक्ने दुवैलाई संक्रमण रोग नियन्त्रण ऐनबमोजिम कारवाही गरिने प्रजिअ गुरागाईँद्वारा जारी सूचनामा उल्लेख छ ।

सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको समेत प्रजिअ गुरागाईँले बताए ।

उनले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा संक्रमितको संख्या ९८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *