Sajhamanch Archive

दैनिक छाक टार्न समस्या परेकालाई झापामा निःशुल्क खानाको व्यवस्था

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । लक डाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द भएको छ । अर्कोतर्फ खाद्यान्नको अभाव सृजना भएको छ ।

यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला झापामा भने निशुल्क खाना खुवाउने अभियान सुरु भएको छ । लक डाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि निशुल्क खानाको व्यवस्था मिलाइएको हो ।

कोही पनि भोको नरहोस् भन्ने मान्यता राखेर झापाका विभिन्न ठाउँमा निशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी मदन बुढाथोकी बताउँछन् । बुढाथोकी आफैँले पनि दिवङ्गत परिवारका सदस्यको स्मृतिमा शुक्रवार सात सय जनालाई खाना बाँडेका छन् । उनका हजुरबुवा जगतबहादुर र रुपमाया बुढाथोकीको सम्झना खाना खुवाइएको हो ।

छोराबुहारी छत्रबहादुर बुढाथोकी र शान्ता बुढाथोकीले विपन्नका लागि खाना खुवाउने योजना अघि सारेका थिए । टोल टोलमा खाना खुवाउने अभियानपछि विपन्न नागरिकको सहभागिता पनि बढ्दै गएको मदन बताउँछन् । ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय तथा बिपन्न परिवारको समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने ।

स्थानीय दाताहरुको सहयोगमा आलोपालो झापाका विभिन्न टोलमा स्वतस्फूर्तरुपमा खाना खुवाउन थालिएको छ । भात, दाल बोडी, स्वाबिन, बटर, आलु लगायतका परिकारसँग पेटभरि निशुल्क खाना खान पाएपछि दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएकाहरु पनि दङ्ग छन् ।

झापा बिर्तामोड–३ को सैनिकमोड, मेची आँखा अस्पताल र करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी जम्मा पाँच स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

बिर्ता बजारमा बैशाख २९ गतेदेखि खाना खुवाउन थालिएको हो । २९ गते अन्जु खड्काले २६० जना, ३० गते मीरा खड्काले ४५० जना, ३१ गते दीपक मास्केले ५५० जना, जेठ १ गते प्रेम उप्रेती र खगेन्द्र उप्रेतीले ७५० जनालाई खाना खुवाएका छन् ।

स्थानीय दाताले आलोपालो गर्दै खाना खुवाउन थालेपछि विपन्न नागरिकलाई पनि भोकै मरिदैन भन्ने विश्वास पलाएको छ । उनीहरु भन्छन्न, ‘नगरपालिकाले दिएको राहत सकिएपछि भोकै मरिएला जस्तो भएको थियो । अब विश्वास लागेको छ, खान नपाएर मरिदैन होला ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *