Sajhamanch Archive

महिलामाथि कुटपिट भएपछि घटना साम्य पार्न गएका प्रहरीमाथि आक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by .

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नं.८ पोखरियामा एकजना दलित महिलालाई कुटपिट गरिरहेको घटना साम्य पार्न गएका प्रहरी टोली माथिनै आक्रमण भएको छ ।

प्रहरीमाथि भएको आक्रमणमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवलाई चोटपटक लागेको छ ।

पोखरियामा शुक्रवार राति एकजना दलित महिलालाई केही स्थानीयले कुटपिट गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहको कमाण्डमा प्रहरी टोली गएको थियो ।

पोखरियामा केही मानिसले महिलालाई कुटपिट गरेर अचेत बनाएको र प्रहरी पुग्दापनि कुटपिट जारी राखेकाले हवलदार रंजित यादवले कुटपिट गर्ने एकजनालाई नियन्त्रणमा लिए ।

उक्त व्यक्तिलाई नियन्त्रणमा लिएलगत्तै झण्डै दुईदर्जन मानिसले प्रहरीको हातको लाठी खोसेर एकैपटक प्रहरीमाथि आक्रमण गरेको सई सिंहले बताएका छन् ।

आक्रमणलगत्तै गाँउलेहरुले प्रहरीमाथि ढुंगा मुढासमेत सुरु गर्दा स्थिती नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट थप मद्दत लिएर घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको सई सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा कटहरिया ८ का बर्ष २५का श्रीचन साह, ३२ का बच्चेलाल साह, ३७ का लालबाबु ठाकुर र ६० का प्रतापबिक्रम साह रहेका र घटनाबारे थप अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।

कुटपिटबाट घाइते महिलाको कटहरियास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *