Sajhamanch Archive

शिवसताक्षीको दूधे माविलाई होल्डिङ एरिया बनाउने सर्वपक्षीय निर्णय, स्थानीयद्वारा विरोध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

शिवसताक्षी । कोरोना भाइरसका (कोभिड १९) का कारण भारतमा अलपत्र परेका नेपालीहरुलाई ल्याउनका लागि झापाका स्थानीयतहले होल्डिङ्ग एरिया निर्माण गर्न थालेका छन् ।

झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० का लागि होल्डिङ एरिया निर्माण हुने भएको हो । दूधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको पूर्वाधार युक्त भवनलाई होल्डिङ एरिया निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

शिवसताक्षी नगरकार्यपालिकाको सोमबार बसेको बैठकले दुधेको उक्त सामुदायिक विद्यालयलाई होल्डिङ एरिया निर्माणका लागि निर्णय गरेको थियो । मंगलबार नगर स्तरीय सर्वदलीय समन्वय समितिले नगरपालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ एरिया तय भएको हो । नगर प्रमुख शेर्माका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइन लागिएको हो ।

भारतबाट आएकाहरुलाई तत्काल होल्ड गरेर सुरक्षित साथ राखिने र स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुरुपको अन्य प्रकृयामा जाने गरी व्यवस्था मिलाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

भारतबाट आएका नेपालीलाई गन्तव्य सम्म पुर्याउनका लागि होल्डिङ एरिया स्थापना गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले बताए । उनले सिमा र होल्डिङ एरियामा सुरक्षा सर्तकता समेत बढाइएको बताएका छन् ।

यता दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा होलिङ्ग एरिया राख्ने निर्णयलाई दूधे बासीले विरोधमा उत्रिएका छन् ।

मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषयमा नगरपालिकाले लापरवाही गरेको स्थानीयबासीको आरोप छ । होल्डिङ एरिया परिसरमा प्रशस्तै घरहरु जोडिएको हुनाले संक्रमण फैलन सक्ने भन्दै दूधे बासीले विरोध जनाएका छन् ।

भारतमा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न हामी तयार छौ तर होल्डिङ एरियाका लागि सरकारी मापदण्ड नपुगेको स्थानीय सन्तोष गुरुङ्ग बताउँछन् । उनले भने, नगरभरिको कुनै खुला क्षेत्र हेरौं, होल्डिङ एरिया बनाऔं, हामी सहयोग गर्न तयार छौ ।

दूधे बासीले नगर उपप्रमुख भोजकुमारी नेपाल र क्वारेन्टाइन व्वस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष भैरवकुमार श्रेष्ठलाई दूधे मा.वि.लाई होल्डिङ  एरिया नबनाउन सुझाव दिएका थिए ।

वडाध्यक्ष भैरवकुमार श्रेष्ठले दूधेको विकल्पमा अन्यत्रै होलिडङ्ग एरिया बनाउने आश्वासन दिएपनि सर्वपक्षीय समितिले दूधे मै निर्णय गरेपछि स्थानीय आक्रोसित भएका छन् ।

यता वडाध्यक्ष भैरवकुमार श्रेष्ठ भन्छन्ः यो सबैको साझा समस्या हो, नगरले कही न कही होल्डिङ एरिया तोक्नै पर्छ । दूधे मा.वि.मा सबैतिर कम्पाउण्ड भएको हुँदा सुरक्षित अपनाएर काम गर्ने गरी होल्डिङ्ग एरियाका लागि सर्वपक्षीय समितिले निर्णय गरेको जानकारी दिए ।

यो क्वारेन्टाइन नभएर अलपत्र परेका नेपालीलाई आफ्नो गन्तव्य सम्म पु¥याउन सहजताका लागि प्रतिक्षा घर भएकाले स्थानीयले पनि मानवियता देखाउन पर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ ।

होल्डिङ एरिया भन्ने वित्तिकै नडराउन शिवसताक्षी नगरपालिकाकी उपमयर भोजकुमारी नेपालले स्थानीयबासीलाई आग्रह गरेकी छिन् । यो समस्या सबैको साझा भएकाले सबैले साथ दिनु पर्ने उनको भनाई छ ।

सरकारको मापदण्ड अनुसार कोरोना संक्रमित वा सम्भावित संक्रमितलाई सम्भव भएसम्म घनाबस्तीबाट छुट्टै (टाढा) रहनुपर्ने प्रावधान रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *