Sajhamanch Archive

१३ सुरक्षाकर्मी कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक र ट्राफिक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि मात्रै उनीहरूको स्वाब संकलन गरिएको थियो।

दुई सुरक्षाकर्मीमा कोरोना देखिएसँगै वृत्त र ट्राफिक प्रहरी प्रभागमा कार्यरत एक सय ४५ जना सुरक्षाकर्मीलाई आइसोलेसनमा राखिएको छ। संक्रमित दुई सुरक्षाकर्मी सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि राखिएको छ। कालिमाटी वृत्त र ट्राफिक प्रभाग मातहतका सबै प्रभाग र बिट सिल गरिएको छ। त्यहाँ काम गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी मुख्यालयबाट सुरक्षाकर्मी परिचालित छन्।

यसअघि नेपाली सेनाको मध्यपूर्वी पृतनापति एवं उपरथी र सैनिक जवानलाई कोरोना संक्रमण भएको थियो। यससँगै हालसम्म पूर्वगृहमन्त्री भीम रावलका पूर्व पीएसओसहित सशस्त्र प्रहरीका तीन, नेपाल प्रहरीका सात र राष्ट्रिय अनुसन्धान विभागका एक जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको गृह मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण फैलन नदिन सरकारले अग्रपंक्तिमा यिनै सुरक्षा निकायलाई खटाउँदै आएको छ। सवारी जाँचदेखि संक्रमित फेला परेका स्थान सिल गर्न सुरक्षाकर्मी परिचालित छन्। सुरक्षाकर्मी नै संक्रमणको चपेटामा परेपछि सर्वसाधारणमा थप त्रास सिर्जना भएको छ। तर, नआत्तिन सुरक्षा निकायले आग्रह गरेको छ। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कोरोना संक्रमणले कुनै पद वा निकाय नभन्ने भएकाले सबैलाई नआत्तिन आग्रह गरेका छन्।

अग्रपंक्तिमा सुरक्षा निकाय नै खटिने भएकाले जोखिम बढ्न नदिन ड्युटीमा खटिँदा संवेदनशील भएर काम गर्ने सबैलाई एलर्ट गरिएको जानकारी ज्ञवालीले दिए। उनले भने, ‘जिल्लामा रहेका आइसोलेसन वार्ड र क्वारेन्टाइनमा बसेकाको सुरक्षासँगै सुरक्षाकर्मी स्वयंले पनि स्वास्थ्यलाई ध्यान दिन परिपत्र जारी गरेका छौं।’

ज्ञवालीले उपत्यकाको कालिमाटी वृत्तमा दुई जनालाई कोरोना संक्रमण देखिएसँगै प्रहरीका सकल दर्जा सबैलाई एलर्ट रहन निर्देशन दिएको बताए।

अन्नपूर्ण पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *