Sajhamanch Archive

अम्पुन आँधीका कारण भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा गरी अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ ।

आँधीले घरलगायत सयौं भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रूख, बोटबिरुवा सखाप भएका छन् । विद्युत, पानी, सञ्चारलगायत सेवाहरु पनि अवरुद्ध भएको अधिकारीले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधीबाट प्रभावित भएको र ५ लाख मानिसले घर गुमाएको जनाएको छ । घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ ।

अधिकारीले दिएको जानकारीअनुसार भारतको पश्चिम बंगाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ । तीमध्ये पनि १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिएकी छन् । उनले भनिन्, ‘यति ठूलो र विनासकारी आँधी मैले अहिलेसम्म देखेकी थिइनँ ।’

यस्तै आँधीका कारण बंगलादेशमा १२ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । मौसम पुर्वानुमान राम्रो भएकाले लाखौं मानिसलाई उद्धार गर्न सफल भएको उनीहरूको भनाइ छ । बंगलादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरमा राखिएको छ । भारतमा ६ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरिएको छ ।

आँधीका कारण कम्तीमा एक करोड मानिस विद्युत् सेवाबाट वञ्चित बनेको बंगलादेशका ग्रामीण विद्युतीय बोर्डका प्रमुख मोइन उद्दिनले जानकारी दिए । ‘आँधीका कारण अनगन्ती विद्युत् पोल ढलेका छन्, टा«म्सफर्मरमा क्षति पुगेको छ, त्यसैगरी असीमित रूख ढलेका छन्,’ उनले भने ।

सडकमा समेत क्षति पुगेको र अन्य संरचनाले सडक छेकिएकाले सवारी साधनहरु सञ्चालन हुन नसक्ने अवस्थामा छन् । कोरोना भाइरसको त्रासकैबीच विनासकारी आँधी आएपछि यस क्षेत्रका नागरिक दोहोरो मारमा परेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *