४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धले जिते कोरोना
Published: (Updated: )
by .वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् ।
अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उनका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् ।
गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।
आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् । आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।
यसअघि शनिबार पनि नाराणी अस्पतालबाट चार जना डिस्चार्ज भएका थिए । जसमध्ये एक जना भारतीय नागरिक थिए । उनीसँगै कोरोना परीक्षणका क्रममा पर्सामा संक्रमित देखा परेका तीन जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
अनलाइनखबर
Comments