Sajhamanch Archive

जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैन : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट  अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिनुभएको छ ।

‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्‍यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शीर्ष नेताहरुले सरकार, नीति तथ ाकार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’

संसदमा एक दुई जना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले  असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने  बताउनुभएको छ । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताउनुभएको छ । ‘संविधानले २५ वटासम्म मन्त्रालय  र मन्त्री बनाउन अधिकार दिएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस कारण आवश्यकताअनुसार मन्त्रालय विभाजन गरिएको हो ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सक्रियतापूर्वक काम गर्ने बताउनुभएको छ । ‘यस सरकारलाई असफल हुने छुट छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसलाई असफल हुन पनि दिइँदैन ।’ वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले डा.गोविन्द केसीको अनसन तोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकारविरुद्ध भइरहेका षड्यन्त्रलाई चिर्नु पर्ने बताउनुभएको छ ।

– उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *